गुप्तचरलाई नयाँ र गम्भीर जिम्मेवारी थप
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले आफू मातहत राखेको र निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले गृहतिरै फर्काएको गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागलाई वैशाख ३० गतेको निर्णयमार्फत प्रधानमन्त्री कार्यालयमै लगिएकोमा भोलिपल्टैदेखि सिमानातिरको तस्करी नियन्त्रणमा पनि खट्न आदेश दिइएको छ।
राजश्व कम उठ्ने गरेको सूचना पाइएसँगै प्रधानमन्त्री बालेन्द्र साहले सारा गुप्तचरलाई सीमातिर केन्द्रित हुन कडा निर्देशन दिएको बुझिएको छ।
प्रत्येक पल्ट सरकार परिवर्तनसँगै यताबाट उता र उताबाट यता गर्ने, श्रोत साधन र तालिम नदिने प्रवृत्तिका कारण गुप्तचरले प्रभावकारी भूमिका खेल्न सकेको छैन। तिनै निरीह गुप्तचरमाथि सरकारले नयाँ र गम्भीर जिम्मेवारी थपेको हो।
राष्ट्रियरअन्तर्राष्ट्रिय सूचना संकलन गरेर सरकारलाई जानकारी गराउनुपर्ने जासुसहरू अब राजश्व संकलनमा कसरी खटिएलान्– अत्तोपत्तो छैन। जेठ १ गते सिंहदरवार दक्षिण गेटसँगैको उक्त कार्यालयले देशभर पत्राचार गर्दै आफ्ना संयन्त्रलाई राजश्व संकलनमा परिचालन हुन निर्देशन दिएको गृह मन्त्रालय श्रोतले बतायो।
सरकारबाट जेठ १ गते पत्र प्राप्त भएकोमा ३ गतेबाट कार्यान्वयनमा गएको छ । स्रोतका अनुसार पत्रमा प्रदेश तथा जिल्ला कार्यालयका प्रमुखबाहेक अन्य अधिकृत वा कर्मचारीलाई परिचय लुकाएर काम गर्न, फिल्डमा खटिने कर्मचारीले स्मार्ट फोनको प्रयोग कम गर्दै लैजान, बिदेशी सीमाना जोडिएको क्षेत्रमा कर्मचारी परिचालन गर्न, राजश्व तथा आर्थिक सूचनामा पहुँच पुर्याउन सक्ने सूत्रलाई विशेष प्राथमिकता दिई परिचालन गर्न, सामाजिक सञ्जालबाट मनलाग्दी अभिव्यक्ति नदिन, आफ्नो गोपनीयता कायम गर्न, लोभलालच वा कुनै प्रलोभनमा नफस्न कडा उर्दी लगाइएको छ।
