हुम्ला र बाजुराको सीमा विवाद छानबिन गर्न गृहले बनायो उच्चस्तरीय छानविन विशेष समिति

काठमाडौं। सरकारले हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा घटेको हालैको घटनाको सत्यतथ्य छानबिन गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को संयोजकत्वमा एक उच्चस्तरीय विशेष टोली गठन गरेको छ।

गृह मन्त्रालयका सचिवको संयोजकत्वमा रक्षा सचिवसहित सबै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थितिमा आइतबार सिंहदरबारमा बसेको आकस्मिक बैठकले उक्त छानबिन टोली गठन गर्ने निर्णय गरेको हो।

मन्त्रालयका अनुसार गठित विशेष टोलीलाई तुरुन्त कार्यस्थलमा खटिएर घटनाको निष्पक्ष अध्ययन गरी प्रतिवेदन पेस गर्न कडा निर्देशन दिइएको छ।

यस संवेदनशील घटनाको जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय पूर्ण रूपमा सक्रिय भई तत्कालै हुम्ला र बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल (एपीएफ) को विशेष टोलीलाई घटनास्थलमा परिचालन गरिसकेको विज्ञप्तिमा उल्लेख छ।

सीमा क्षेत्रमा आम नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न र शान्ति सुव्यवस्थालाई थप मजबुत बनाउन मन्त्रालयले सम्बन्धित जिल्ला सुरक्षा समितिलाई निरन्तर उच्च सतर्कता (हाई अलर्ट) अपनाउन निर्देशन दिएको छ।

भविष्यमा यस्ता अवाञ्छित घटनाहरू दोहोरिन नदिने गरी ठोस सुरक्षा रणनीति अख्तियार गर्न समेत स्थानीय प्रशासनलाई सचेत गराइएको छ। यसका साथै, स्थिति पूर्ण रूपमा नियन्त्रणमा लिन र दीर्घकालीन शान्तिका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको तर्फबाट थप आवश्यक सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गर्न गृह मन्त्रालयले दुवै सुरक्षा निकायलाई निर्देशित गरिसकेको छ।

विवादको स्थायी समाधान र दीर्घकालीन कूटनीतिक एवं प्रशासनिक समन्वयका लागि मन्त्रालयले जनप्रतिनिधि, स्थानीय अगुवा एवं सरोकारवाला निकायहरूसँग समेत पटक-पटक समन्वयात्मक बैठकहरू आयोजना गरी सघन पहलकदमी अगाडि बढाएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा आम नागरिकको सुरक्षा र सीमा क्षेत्रमा शान्ति कायम राख्न गृह मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहेको व्यहोरा स्पष्ट पारिएको छ।

साथै, मन्त्रालयले परिस्थिति सुधार्न सहयोग गर्न अपिल गर्दै दुवै जिल्लाका आम नागरिकहरूलाई संयमता अपनाउन र हल्लाको पछि नलाग्न हार्दिक अनुरोध समेत गरेको छ।