ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक खत्रीको मृत्यु

कालीकोट । कालीकोटमा ड्युटीमै खटिएका एक प्रहरी कर्मचारीको मृत्यु भएको छ । जिल्लाको तिलागुफा नगर-५ स्थित खल्लागार्ड प्रहरी चौकीमा कार्यरत ४८ वर्षीय प्रहरी सहायक निरीक्षक (असई)लिला बहादुर खत्रीको निधन भएको हो ।

ड्युटीमै रहेका खत्रीलाई अचानक छाती दुखेपछि बेहोस भएको बताइएको छ। उनलाई तत्काल उपचारका लागि एम्बुलेन्समार्फत जिल्ला अस्पताल मान्म लगिएको भए पनि उपचारका क्रममा सोमबार दिउँसो १२:२५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर-२ स्थायी घर भएका खत्रीको इलाका प्रहरी चौकी पचालझरनामा दरबन्दी भएपनि हाल उनलाई तिलगुफा नगरपालिकाको खल्लागार्ड प्रहरी चौकीमा खटाइएको जिप्रका कालीकोटको प्रेस विज्ञप्तिमा उल्लेख छ।

ड्युटीकै क्रममा राष्ट्रसेवामा खटिएका एक प्रहरी कर्मचारीको अचानक निधनले सुरक्षा निकायमा अपूरणीय क्षति पुगेको बताइएको छ।