कपिलवस्तुमा बस पल्टिँदा ३८ जना घाइते, दुईको अवस्था गम्भीर
काठमाडौं । कपिलवस्तुको महाराजगन्ज नगरपालिका-४ बरइपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकमा मङ्गलवार बिहान बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।
काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १२६६ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो ।
घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ३५ जनालाई थप उपचारका लागि भैरहवास्थित विभिन्न अस्पतालमा रिफर गरिएको छ ।
प्रहरीका अनुसार दुई घाइतेको अवस्था गम्भीर रहेको छ । १९ जनाको अवस्था मध्यम र १७ जनाको अवस्था सामान्य रहेको छ ।
बस चालक सुर्खेतका ३० वर्षीय डिल्ली प्रसाद दाहाल, सहचालक राजन बुढासहित अधिकांश यात्रुको शरीरका विभिन्न भागमा चोट लागेको छ ।
दुर्घटनामा घाइते भएका यात्रु सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, बाँके, झापा, काठमाडौं, ललितपुर, ओखलढुंगालगायत जिल्लाका रहेका छन् ।
प्रहरीले १२ जना घाइतेलाई आफ्नै सवारीमार्फत उद्धार गरेको थियो भने अन्यलाई एम्बुलेन्सबाट अस्पताल पुर्याइएको जनाएको छ ।
दुर्घटनापछि सकुशल रहेका अन्य यात्रुहरूलाई गन्तव्यतर्फ पठाइएको छ । बस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
