बालेन सचिवालयमा ‘गिरोह’को सक्रियता बढ्दै, के राजस्व हेरफेरमा चलखेल हुँदैछ ?
काठमाडौं । प्रधानमन्त्री बालेन शाह चुपचाप आफ्नो कामलाई एकसूत्रीय ढंगले अगाडि बढाइरहेको बेला उनको सचिवालयभित्र व्यापारिक घरानासँग निकट सम्बन्ध राख्ने व्यक्तिहरूको प्रभाव बढेको कुराले बालेन शंकाको घेरामा परेका छन् ।
बालेनको किचन क्याबिनेटमा एक जना व्यापारी समूहले चलखेल गर्न आफ्ना ज्वाइँलाई खटाएको कुराले अहिले राजनीतिक तथा प्रशासनिक वृत्तमा तरंग पैदा गरेको छ । विशेषगरी नेपाल उद्योग वाणिज्य महासंघसँग सम्बन्धित केही पात्रहरूले प्रधानमन्त्री कार्यालयको निर्णय प्रक्रियामा अनौपचारिक प्रभाव जमाइरहेको दाबी विभिन्न स्रोतहरूले बताइरहेका छन् ।
सत्ता केन्द्र वरिपरि घुमिरहेका पात्रहरू, उनीहरूको पहुँच, तथा सरकारी नीतिमा देखिएको प्रभावलाई लिएर सामाजिक सञ्जालदेखि सिंहदरबारसम्म बहस चर्किनुले बालेनको स्वच्छ छविमाथि प्रश्न उठेको छ ।
यस विवादको केन्द्रमा ‘मनोज’ नामका एक व्यक्ति छन् । कतै उनी ‘मनोज पौडेल’ का रूपमा चिनिन्छन् भने कतै ‘मनोज शर्मा’ भनेर चिनिन्छन्। उनै मनोज बालेनको टिममा छन् भन्दा व्यापारीहरु जिब्रो टोकेका छन् ।
प्रधानमन्त्री बालेन साहले आर्थिक सल्लाहकारका रुपमा कसैलाई पनि नियुक्त गरेका छैनन् । तर, मनोजको नाम प्रधानमन्त्रीको आर्थिक सल्लाहकारको रुपमा व्यापारीबीच चर्चाको विषय बनेको छ र, उनीमार्फत अन्य व्यवसायीहरुले आफ्नो कुरा बजेटमा समेट्न ‘लबिङ’ गरिरहेको स्रोतले बताएको छ ।
समाचार स्रोतका अनुसार पौडेल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालका ज्वाईं हुन् । ढकालको जेठी श्रीमतिकी छोरीको श्रीमान रहेका उनले चन्द्र ढकालकै योजनामा प्रधानमन्त्रीको सचिवालयसम्म पुहँच विस्तार गरेको र काम गर्दै आएको पाइएको हो ।
बालेन र सचिन ढकालबीच राम्रो सम्बन्ध भएको कारणले पनि मनोजसँग आर्थिक विषयहरुमा बालेनले सुझाव, सल्लाह लिने गरेको स्रोतले बताएको छ । मनोज पौडेल नेपाल उद्योग वाणिज्य महासंघको तत्कालीन वैदेशिक लगानी फोरमका संयोजक भएकोले पनि व्यापारीहरुसँग उनको राम्रै उठबस छ ।
सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेनको पक्षमा अत्यधिक सक्रिय देखिने र पर्दा पछाडि व्यापारिक तथा नीतिगत ‘लविङ’ मा संलग्न रहेको दाबीसमेत स्रोतको दाबी छ ।
प्रधानमन्त्री बालेन शाहले आफूलाई परम्परागत दल र पुरानो शक्ति संरचनाको विकल्पका रूपमा प्रस्तुत गर्दै आएका छन् । भ्रष्टाचारविरोधी छवि, युवा नेतृत्व र व्यवस्थाविरोधी भाषणका कारण लोकप्रिय बनेका बालेनमाथि ढकाल समूहले योजना नै बनाएर आफ्नो योजनाहरु कार्यान्वयन गराउन पौडेलमार्फत ‘लबिङ’ गरिरहेको बताइन्छ ।
उसो त ढकालले आफ्ना छोरा निशान ढकाललार्ई रास्वपाको समानुपातिक सांसद बनाउने प्रयास समेत गरेका थिए । त्यो प्रयास विफल भएपछि उनले सचिवालयमा ज्वाइँलाई खटाएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार पौडेलले कतिपय विषयमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उछिनेर प्रधानमन्त्रीलाई सल्लाह दिइरहेका छन् । खासगरी राजस्व हेरफेरमा उनको बढी चासो देखिन्छ । विशेषगरी ६० किलोवाटभन्दा माथिका ईभीमा कर संरचना परिवर्तन गर्ने चर्चासँगै केही व्यापारिक घरानाको नाम जोडिन थालेको छ ।
