विद्या भण्डारी ३७ सालदेखिकै एमाले सदस्य हो: ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणको विषयलाई लिएर भ्रम नछर्न आग्रह गरेका छन्। बुधवार पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भण्डारीको सदस्यता पुनर्बहाली भएको सन्दर्भमा विभिन्न टिकाटिप्पणी भइरहेका बेलासो कुरा स्पष्ट पारेका हुन्।

उनले भण्डारी वि.सं.२०३७ सालदेखि नै पार्टीको सदस्य रहेको र २०३४ सालदेखि आन्दोलनमा सक्रिय रहँदै आएको ऐतिहासिक तथ्यलाई भुल्न नहुने बताए । राष्ट्रपति पदमा निर्वाचित भएपछि सो पदको गरिमा, तटस्थता र संवैधानिक व्यवस्था बमोजिम उनले पार्टी सदस्यता त्यागेको ओलीले बताए।

अध्यक्ष ओलीले यो प्रक्रियालाई कसैको जित वा हारका रूपमा व्याख्या गर्नु गलत भएको उल्लेख गरे । केही पक्षले यसलाई आफ्नो विजयका रूपमा प्रस्तुत गरेकोप्रति लक्षित गर्दै उनले कोही विजयी सिकन्दर पल्टिनुपर्ने आवश्यकता नरहेको टिप्पणी गरे । यो हारजितको प्रश्न नभएको र केवल एउटा स्वभाविक र कानूनी प्रक्रिया भएको जिकिर गरे।

उहाँले भन्नुभयो,अब कतिपय साथीहरूले विभिन्न कुराहरू निकाल्नुहुन्छ। नबुझ्नेको पनि हद हुन्छ नि। विद्या भण्डारीजीको कुरा अहिले पनि उठिराखेको छ। उठाउनै पर्दैन। उहाँ राष्ट्रपति भएका बेला सदस्य हुनुहुन्नथ्यो। नभएको सदस्यता नवीकरण हुँदैनथ्यो। हाम्रो केन्द्रिय कमिटीले नवीकरण हुने भएन, एउटा आवेदन दिनुस्, कमिटीले विचार गर्छ भनेका थियौं। अस्ति भर्खर उहाँले आवेदन दिनुभयो। आवेदन दिएपछि कमिटीले उहाँको सदस्यता दियो। उहाँ ३७ सालको पार्टी सदस्य हो। ३४ सालदेखि आन्दोलनमा लाग्नुभएको हो, ३७ सालको पार्टी सदस्य हो।

राष्ट्रपति भएका बेला उहाँ हुनुहुन्नथ्यो । बाँकी अवधि उहाँले पछि राष्ट्रपतिबाट छोडेपछि फेरि सदस्यता पाउनुभयो । यसमा पुरानो कन्टिन्युटी हुन्छ कि हुँदैन ? उहाँ ३७ सालकै पार्टी सदस्य हो। यसमा भ्रम राख्नु पर्दैन। फेरि राष्ट्रपति हुँदा पनि उहाँ सदस्यता हुनुहुन्नथ्यो। राष्ट्रपति हुँदा पार्टीले नै उहाँलाई पार्टी परित्याग गरेर जानुभएको, छोडेर जानुभएको, पार्टी मन नपराएर जानुभएको होइन।

पार्टीले राष्ट्रपति जस्तो महत्वपूर्ण पदको जिम्मेवारी वहन गर्नका लागि उहाँलाई पठाएको थियो र उहाँले सदस्यता छोडेर जानुपरेको थियो, किनभने राष्ट्रपति भनेको दलभन्दा माथि स्वतन्त्र, निष्पक्ष, तटस्थ हुन्छ। देशप्रति, जनताप्रति वफादार हुन्छ। संविधान बमोजिम चल्छ। पार्टीमा हुँदा त पार्टीको अनुशासन र पार्टीको निर्देशनमा चल्नुपर्छ। उहाँ पार्टीको अनुशासन र निर्देशनमा हुनुहुन्नथ्यो।

यति कुरा नबुझेर अहिले सदस्यता नवीकरण भयो भनेर कोही हामीले जित्यौं भनेर सिकन्दर पल्टिरहेका छन् फेरि—विजयी सिकन्दर, अलेक्जेन्डर द ग्रेट। यस्तो केही आवश्यकता नै छैन, यो हारजितको प्रश्नै होइन। त्यसकारण यस्ता कुराहरूमा नबहकिन पनि म साथीहरूलाई आग्रह गर्न चाहन्छु।

अनि हरेक कुरामा खोचे थाप्ने, हरेक कुरामा निहुँ खोज्ने हाम्रो तरिका होइन। यसलाई छोडिदिनुपर्छ। हामी विचारमा एकतावद्ध हौँ । संगठनलाई एकतावद्ध गरौँ । संगठनको विधि, प्रक्रिया, पद्धति, अनुशासनअनुसार चलौं र संघर्षका लागि उच्च मनोबलका साथ तयार हौँ।