सुन र चाँदीकै मूल्यमा गिरावट, तोलामा कति पुग्यो ?
काठमाडौं। नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले ओरालो लागेर ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ।
यसअघि गत आइतबार एकैदिन तोलामा २० हजार ५०० रुपैयाँले बृद्धि भएको सुनको मूल्य हिजो बुधबार भने ३ लाख ११ हजार ३०० रुपैयाँमा स्थिर रहेको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। चाँदीको भाउ तोलामा ८५ रुपैयाँले घटेर ५ हजार २८५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ।
यसअघि गत माघ १५ गते पनि सुनको मूल्यमा ऐतिहासिक उछाल आउँदै तोलामा २० हजार ५०० रुपैयाँ बढेर ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो, जुन नेपाली बजारको इतिहासमै सुनको हालसम्मकै उच्च मूल्य हो।
सोही दिन (माघ १५ गते) चाँदीको मूल्य पनि हालसम्मकै सबैभन्दा बढी प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो।
यद्यपि, त्यसको केही दिनपछि अर्थात् माघ १८ गते चाँदीको मूल्यमा उच्च गिरावट आउँदै तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो, जसलाई चाँदीको मूल्यमा आएको हालसम्मकै सबैभन्दा ठुलो गिरावट मानिन्छ।
