सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिमा बोलेनन् रवि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले परराष्ट्र नीति राजनीतिक दलको मात्र नभई सिङ्गो राष्ट्रको विषय हुने बताएका छन् ।
भारत भ्रमणबाट फर्किएपछि शुक्रबार पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो धारणा राखेका हुन्। प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्तिप्रति टिप्पणी माग्दा सभापति लामिछानेले परराष्ट्र मामिला पार्टीपिच्छे फरक-फरक हुन नसक्ने प्रष्ट पारे।
“परराष्ट्र मामिला, बाह्य सम्बन्ध र राष्ट्रको परराष्ट्र नीति जस्ता संवेदनशील विषयहरू दलविशेषका हुँदैनन्,यी त सिङ्गो देशका हुन्छन्, लामिछानेले भने।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा परराष्ट्र मन्त्रालयले आधिकारिक धारणा सार्वजनिक गरिसकेको समेत स्मरण गराए। उनले थपे, सरकारको प्रमुखका हैसियतमा प्रधानमन्त्रीले बोलेको कुरा र त्यसको वस्तुस्थितिबारे परराष्ट्र मन्त्रालयले स्पष्ट रूपमा विज्ञप्ति जारी गरिसकेको छ। त्यो नै सरकारको आधिकारिक धारणा हो।
यस विषयमा थप स्पष्टीकरण खोजिरहनु आवश्यक नभएको उनको भनाइ थियो।मन्त्रालयले आधिकारिक रूपमा जानकारी गराइसकेपछि त्योभन्दा बढी आधिकारिकता खोज्नुपर्ने म देख्दिनँ,उनले भने।
प्रधानमन्त्रीले संसदमा “नेपालले पनि भारतको भूमि मिचेको रहेछ” भनी दिएको अभिव्यक्तिलाई लिएर यतिबेला बहस भइरहेको छ।
