ओमानलाई हराउँदै नेपाल एशियन गेम्सको छनोटको फाइनलमा

काठमाडौं। नेपाल जारी एशियन गेम्सको क्रिकेटतर्फको छनोट प्रतियोगिताको फाइनलमा पुगेको छ। आइतबार सम्पन्न सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।

ओमानले दिएको ९५ रनको लक्ष्य पछाएको नेपालले ९.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। नेपालका लागि लोकेश बमले सर्बाधिक ४४ रन बनाए भने रोहित पौडेलले अविजित २१ र कुशल भुर्तेलले २० रन बनाएका थिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा अल आउट हुँदै ९४ रन बनाएको थियो।

ओमानका लागि कप्तान सुफयान महमूदले सर्बाधिक ३८ रन बनाएका थिए भने जुबैर अली अकबरले २२ रन तथा अब्दुलजलिल खानले १६ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट तथा शहाब आलम, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।

अब नेपालले फाइनलमा हङकङ र मलेसियाबीचको विजेतासँग सोमबार खेल्ने छ । त्यस्तै ओमानले भने तेस्रो स्थानका लागि हङकङ र मलेसियाबीचको पराजित हुने टिमसँग सोमबार नै खेल्ने तालिका रहेको छ ।