मन्त्रालय संख्या घटाउँदै मधेश सरकार, कार्यदल गठन

काठमाडौं । कृष्णप्रसाद यादव मुख्यमन्त्री रहेको मधेस प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने प्रक्रिया अघि बढाएको छ । प्रशासनिक खर्च बढी भइरहेको निष्कर्षसहित प्रदेश सरकारले खर्च कम गर्ने उद्देश्यसहित मन्त्रालयको संख्या घटाउने प्रक्रिया अघि बढाएको हो ।

मन्त्रालय पुनर्संरचनाका लागि मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलको सदस्यमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सचिव पार्वती शर्मा र ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव होमनाथ पौडेल छन्।

हालको मन्त्रालय संरचना अध्ययन गरी आवश्यकता अनुसार घटाउने तथा पुनःसंरचनाको खाका तयार गर्ने जिम्मेवारी कार्यदललाई दिइएको छ। सोही प्रतिवेदनका आधारमा प्रदेश सरकारले अन्तिम निर्णय गर्ने जनाएको छ ।

मधेशमा हाल १२ वटा मन्त्रालय रहेका छन्। अब ती १२ मन्त्रालयलाई घटाएर ८ मा झार्ने र मुख्यमन्त्री कार्यालयसहित ९ वटा कायम गरिने कार्यदलका संयोजक अर्थमन्त्री भट्टराईले जानकारी दिए ।

स्रोतका अनुसार अनुसार शिक्षा र स्वास्थ्य, श्रम तथा यातायात र खेलकुद तथा समाजकल्याण, वन तथा वातावरण र उद्योग तथा पर्यटन मन्त्रालयलाई गाभ्ने तयारी छ । मन्त्रालय गाभ्नुका साथै नामसमेत परिवर्तन गरिने स्रोतको दाबी छ।