सुधन गुरुङले भने-सफाइ पाउनेमा आशावादी छु,फेरि गृहमन्त्री बने फोटो खिच्न नआउनू

काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरूङले आफू निर्दोष साबित हुनेमा विश्वस्त रहेको बताएका छन्। आइतबार रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशन सत्रलाई सम्बोधन गर्दै उनले आफू निर्दोष साबित हुनेमा विश्वस्त रहेको बताएका हुन् ।

गुरुङ्ग मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी समिति गठन गरेको थियो ।

सोही समितिबाट आफुले सफाइ पाउनेमा विश्वस्त रहेको उनले दाबी गरेका हुन् । साथै उनले आफू फेरि गृहमन्त्री बनेमा दुई महिनासम्म तस्बिर खिच्नका लागि नआउन अनुरोध गरेका छन्। ‘यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरूका दुई महिना कोही पनि नआइदिनुहोला,उनले भने ।

सांसद गुरूङले सार्वजनिक पदमा रहँदा उठेका सवालहरूको जवाफ दिन आफू पूर्ण रूपमा जिम्मेवार बनेको बताए । ‘मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ । बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिएको छु,’ उनले भने।