विद्यालय आजदेखि तीन दिनसम्म बिदा दिने निर्णय

काठमाडौं। बढ्दो गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिकाका विद्यालय आजदेखि तीन दिनसम्म बन्द गरिएको छ।

पछिल्ला केही दिनयता बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढ्दै गएपछि कोहलपुर नगरपालिकाले पालिकाका संस्थागत तथा सामुदायिक विद्यालयमा बिदा दिने निर्णय भएको शिक्षा तथा खेलकुद शाखा प्रमुख रविलाल मिजारले जानकारी दिए।

‘वर्षा भएर गर्मी घट्ने अवस्था आए तीन दिन मात्रै बिदा हुन्छ नभए थप दुई दिन बिदा हुन सक्छ,’ उनले भने, ‘उच्च तापक्रम तथा तातो हावाका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ।

कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख मिजारले यही जेठ २५ देखि २७ गतेसम्म तीन दिन नगरभित्र सञ्चालित सामुदायिक ३३ र संस्थागत ५० विद्यालयमा नियमित पठनपाठन स्थगन गरिएको बताए ।

मौसमको अवस्था तत्काल सुधार हुने सम्भावना नदेखिएको र तापक्रम लगातार बढ्दो क्रममा रहेकाले विद्यार्थीहरूको सुरक्षालाई प्राथमिकतामा राखेर बिदा गरिएको उनको भनाइ छ।

जल तथा मौसम विज्ञान कार्यालय, कोहलपुरका अनुसार त्यहाँ आजको अधिकतम तापक्रम ३९ दशमलव चार रहेको छ।

कार्यालयका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट रामप्रसाद अवस्थीले नेपालगन्जमा ३९ दशमलव दुई र खजुरामा ३८ दशमलव आठ अधिकतम तापक्रम रेकर्ड भएको जानकारी दिए ।