नेतृत्वमा करुणा र सहानुभूति हुनुपर्छ: गगन थापा
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक नेतृत्वको सबैभन्दा ठूलो गुण करुणा र सहानुभूति भएको बताएका छन्। आधुनिक युगमा ज्ञान, प्रविधि र सामाजिक सञ्जालको सीप मात्रै पर्याप्त नहुने उल्लेख गर्दै उनले मानवीय संवेदनाविना असल नेतृत्व सम्भव नहुने स्पष्ट पारे।
शनिबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन्।
उनले भने, मैले केही तन्नेरी साथीहरूलाई सोधेँ– आजको युगमा नेतामा हुनुपर्ने सबैभन्दा ठूलो गुण के हो रु धेरैले भने– ज्ञान हुनुपर्छ, सामाजिक सञ्जाल चलाउन जान्नुपर्छ, नयाँ प्रविधि बुझ्नुपर्छ। ती सबै कुरा ठीक हुन्। तर एउटा सबैभन्दा महत्त्वपूर्ण कुरा छुटेको छ। त्यो नभएसम्म अरू सबै गुण भएर पनि आजको युगलाई चाहिने असल नेता बन्न सकिँदैन। त्यो गुण हो– करुणा। जसको मनमा करुणा छैन, सहानुभूति छैन, उसले नेतृत्व गर्न सक्दैन।
आगामी साउन २४ गतेदेखि ‘एनसी फर एनसी (नेपाली कांग्रेस फर नेसनल कज)अभियान सुरु हुने जानकारी पनि सभापति थापाले दिए। उनका अनुसार अभियानअन्तर्गत पार्टीका प्रत्येक नेता तथा कार्यकर्ताले वर्षभरि कुनै न कुनै सामाजिक वा राष्ट्रिय अभियानसँग आफूलाई जोड्नेछन्।
साथै थापाले विपद् व्यवस्थापनसम्बन्धी तालिम लिइरहेका सहभागीहरूलाई यस वर्षको आफ्नो ‘नेसनल कज’ विपद् प्रतिकार्यसँग जोड्न आग्रह गरे।
उनले भने,एनसी फर एनसी भनेर हामीले जुन अभियान सुरु गरेका छौँ, साउन २४ गतेदेखि पार्टीका साथीहरूले आफ्नो काम सुरु गर्नुहुन्छ। पहिलो दिनदेखि नै हामी प्रत्येकले कुनै न कुनै एउटा कामसँग आफूलाई वर्षभरि जोड्छौँ।
मेरो अनुरोध यो प्रशिक्षणमा आउनुभएका प्रत्येक साथीहरूलाई के छ भने, यो वर्षका लागि आफ्नो ‘नेसनल कज’को प्रतिबद्धता विपद् व्यवस्थापनसँग जोडेर बनाइदिनुहोस्। यहाँ सिकेका कुरालाई वर्षभरि व्यवहारमा उतार्नुहोस्। केही नभए पनि आफूले सिकेको ज्ञान अर्को चार–पाँच जनासम्म पुर्याउनुभयो भने पनि त्यो ठूलो योगदान हुनेछ।
थापाले विपद्का बेला पीडितको दुःख महसुस गर्न सक्ने संवेदनशीलता नै नेतृत्वको वास्तविक आधार भएको बताए। उनले भने,बाढी, पहिरो, खडेरी वा विपद्का बेला कसले ज्यान गुमायो, कुन किसानको बाली नष्ट भयो, कसले खान पाएन, कसलाई कस्तो पीडा भयो भन्ने महसुस गर्न सक्ने क्षमता नै नेतृत्वको आधार हो। यदि करुणा, माया र सहानुभूति हरायो भने हामी केवल मेसिनजस्ता बन्छौँ, जहाँ भ्युज र लाइक मात्र महत्त्वपूर्ण हुन्छ।
सामाजिक सञ्जालको लोकप्रियता र मानवीय जीवनबीचको अन्तर प्रष्ट्याउँदै थापाले युवाहरूलाई ‘लाइक’ भन्दा ‘लाइफ’ रोज्न आग्रह गरे। मैले साथीहरूलाई भनेको थिएँ, ‘लाइफ’ र ‘लाइक’बीच रोज्नुपरे ‘लाइफ’ रोज्न सक्ने नेता बन्नुहोस्। लाइफ सबैभन्दा महत्त्वपूर्ण हो, लाइक पछि आउँछ, आए आउँछ, नआए आउँदैन। त्यसैले विपद् व्यवस्थापनको तालिम लिँदै गर्दा यो कुरा कहिल्यै नबिर्सनुहोस्, उनले भने।
