अछाम राम्णो साँप्या

खगेन्द्र िगरी (काेपीला)
असोजको अन्तिम साता दुई दिने अछाम गजल महोत्सवमा सहभागि हुन मङ्लसैन पुग्दा त्यहाँ तीन रात बिताउने कार्यक्रम बनाएर हामी नेपालगञ्जबाट हिडेका थियौँ तर संयोग यस्तो प¥यो कि एक रात पनि बस्न पाइएन । हामी अर्थात् जाजरकोटी कविद्वय पूर्ण समिर र तिलक संवेग तथा बर्दियाली कवित्रय जेबी अनुरागी, डम्बर वीसी र हरिशप्रकाश सहित यो पङ्तिकार पनि । ‘मङ्गलसैनमा हेर्ने कुरा खासै केही छैनन् दाइ’ — स्थानिय कवि रावल कृष्णको वाणी कानमा परेदेखि मन एक किसिमले खिन्नखिन्न थियो । यहाँको हेर्न लायकको ऐतिहासिक दरबार माओबादीले जलाई दिएपछि मङ्गलसैन अचेल एक किसिमले रुखोरुखो, उदासउदास भएको छ । नेपाली सेनामा ‘जनरल’ को स्तरसम्म पुग्ने पहिलो महिला डा। राधा शाह जन्मिएको मङ्गलसैनमा उनका बारेमा जसजसलाई सोधपुछ ग¥यौं उनीहरु अनभिज्ञ देखिए ।
साँझपख हामी अछाम गजल महोत्सवका आयोजकसित बिदा लिएर ओरालो लाग्यौँ ३४ किलोमिटर परको साँफेबगरलाई गन्तव्य बनाएर । जयगढ र रिडीकोटको ओरालो झर्दै गर्दा हाम्रो मस्तिष्कमा सल्बलाइरहेको छ पहलमानसिंह स्वारको जन्मस्थलको अमूर्त छाया । त्यो छायालाई पनि बयालपाटाको ओरालोमा साँझपखको घुरमैलो अँध्यारो र सिरसिरे बतासले कता उडायो कता । मङ्गलसैनबाट घाम डुब्नै लाग्दा ओरालो लागेका हामी तिमिल्सैनको कुइनेटो र जयगढका घुम्ती छिचोलेर दुई घण्टामा साँफेबगर पुग्दा झमक्क रात परिसकेको थियो ।
भोलिपल्ट बिहान हामी साँफेबगरभन्दा छिट्टै बिउँझियौँ । साँफेबगर भने अलि ढिलो बिउँझिदो रहेछ । पूर्वतिरबाट अग्लो पहाडले छेकेको यो फाँटमा घामका किरण अलि ढिलै आइपुग्दा रहेछन् । उहिलेउहिले स्थानिय लवजमा साँफेबगरलाई ‘साँप्या’ भनिन्थ्यो अचेल ‘साँफे’ भएको छ यो ठाउँ । तर उहिलेका धेरै कुरा आजको पुस्ताले बिर्सिसके पनि यौटा देउडा गीतको टुक्रा भने कसैले बिर्सेका छैनन् ः
‘डोटी राम्णोे डडेलधुरा अछाम राम्णो साँप्या
मलाई पन उडाई लैजा ह्युँचुलीका डाँफ्या’
साँफेबगरमा पुगेपछि हेर्नै पर्ने र पुग्नै पर्ने ठाउँ हुन् बैजनाथ र मटेना । दुवै ठाउँ मुख्य बजारबाट अलि टाढा बराबर दुरीमा । जान आउने सहज सुविधा नभएका यी ठाउँ साँफेबगरका लागि कस्तुरीको बिनाजस्तै भएका छन्, माल पाए पनि चाल नपाएजस्ता । बिहानपख हामीले पनि साँफेबगरबाट सात किलोमिटर जति पर रहेको बैजनाथ मन्दिरमा पुगेर पूजाआजा ग¥यौँ । बुढीगङ्गा नदी किनारको सुन्दर फाँटमा अवस्थित बैजनाथलाई भगवान शिवको एउटा रुप मानिन्छ । त्यहाँ एउटा मुख्य मन्दिर र थुप्रै धार्मिक—आध्यात्मिक संरचनाहरु बनेका छन् । बैजनाथ मन्दिरबाट अलि माथि आँखा लगाउँदा देखियो प्रख्यात साहित्यकार महेशविक्रम शाहको गाउँ कालीमाटी ।
घडीको सुई सधैं एउटै दिशामा हिड्छ तर साँफेबगरमा हामीले भने धेरै पटक उल्टोसुल्टो फन्को मार्नु प¥यो । साँफेबगरलाई अछामको सबैभन्दा राम्रो ठाउँ भनेर चिनाउने त्यही पुरानो देउडा गीत गुन्गुनाउँदै हामी बैजनाथ पुग्न सात किलोमिटर दक्षिण दुगु¥यौँ भने मटेना पुग्न त्यति नै पूर्व । अनि १८ किलोमिटर उत्तरतर्फ दुगुरेर बाजुरामा पर्ने इकिडी पुग्यौँ र त्यहाँको झरनामा नुहाएर फर्कियौं । बैजनाथ र इकिडीको यात्रासित हाम्रा आस्था र रहर जोडिएका थिए भने मटेनाको यात्रासित हाम्रो संवेदना जोडिएको थियो ।
मटेना पुग्न हामी साँफेबगरबाट फेरि हिजै कँुदेर आएको सडकहुँदै ठाडै उकालो लाग्यौँ । बयालपाटाको थुम्कोनेर पुगेपछि साँफेबगर—मङगलसैन सडकलाई छाडेर पहाडको काखैकाखै दक्षिण मोडियौँ । अलि पर पुगेपछि ठाडो पहाडको साँगुरो पाखोमा ढल्नै लागेको बुढो मान्छेजस्तै सकिनसकि उभिएरहेको यौटा बङ्गलाको खण्डहर देखियो । बाटो भरी मान्छेले बिष्ट्याएको साँगुरो पहाडी खोल्सो हो या बाटो हो रु छुट्टयाउन नसकिने घोडेटो बाटो हिँडेर हामी पन्ध्र मिनेटमा दाखिल भयौँ नेपालका प्रथम नाटककार पहलमान सिंह स्वारले आजभन्दा करिब एक सय वर्ष अगाडी बनाएको घरको आँगनमा । एक जना कुप्रो परेका तर उज्यालो अनुहारका वृद्धमान्छे बङ्गलाछेउकै सानो झुप्रे घरमा आगो तापिरहेका रहेछन् । हामीले आदरपूर्वक नमस्कार गरेपछि उनी लठ्ठी टेकेर घरबाहिर निस्किए र खुसी हुँदै पहलमानसिंह स्वारको बारेमा बताउन लागे । यिनको नाम मोहनबहादुर स्वार रहेछ । चौरासी वर्षको उमेरका यी बृद्ध नाताले पहलमानसिंह स्वारका नाती पर्दारहेछन् । त्यस खण्डहरजस्तो बङ्गलाका एक्ला रक्षक र गाइड भने पनि हुने यी बृद्ध पुरुष आक्कल–झुक्कल त्यहाँ आइपुग्ने जिज्ञासुहरुलाई पहलमानसिंह स्वार र उनको यो घरको बारेमा जानकारी दिदारहेछन् । रिडीकोटमा जन्मेका पहलमानसिंह स्वारले कैलालीमा ठेकेदारको काम गर्न थाले पछि मटेनामा आएर काठमाडौंबाट मिस्त्री ल्याएर यो घर बनाएका हुन् — ती बृद्ध पुरुषले टेपरेकर्डर खोलेजस्तै गरी अछामी लवजमा बेलीबिस्तार लगाए अनि आफ्नो गुनासो र चिन्ता पनि पोखीहाले ‘आउँदा ता यो घर हेन्न कति आउँदा कति, तर कोई पन यैको उद्धार गर्न्याँ कार्यक्रम ल्याइकन आउँदाइँन’ ९आउन त यो घर हेर्न कति आउँछन् कति, तर कोही पनि यसको उद्धार गर्ने कार्यक्रम ल्याएर आउँदैनन्० ।
पचास ओटा झ्याल भएको तीन तले रातो इट्टाले बनेको यो झिङ्गटीवाल बङ्गलाको छत भने खसिसकेको छ । वरिपरि आँगनमा गाई, गोरु, बाख्रा बाँधिएका छन् । भुइँतलामा झार र घाँस उम्रेको छ । भित्र पसेर भित्ताका  कलाकृति हेर्न संभव छैन । घरको बाहिरी भित्तामा कुँदिएका चित्र, बुट्टा र रङ्गरोगनहरु मक्किएका छन्, खुइलिएका छन् ।  अचेल भुतबङ्गलाजस्तो देखिने यो घरसित नेपाली साहित्यिक इतिहासका अनेकौं महत्वपूर्ण प्रसङ्ग जोडिएका छन् तर आँगनमा उभिएर घरपट्टि नजर लगाएर हेर्दा केवल पुराना स्मृतिको प्रतिध्वनिले सुस्केरा होलेको मात्रै सुनिन्छ । कुनै जिवन्तता, कुनै उद्वेग र कुनै उद्दीपन महसुस हुँदैंन ।
अछामी प्रतिभा पहलमानसिंह स्वारले यही घरमा बसेर अनेक साहित्यिक कृति रचेका थिए । उनलाई आधुनिक नेपाली नाट्य परम्पराको श्रीगणेश गर्ने लेखक मानिन्छ । उनको ‘अटलबहादुर’ नामक नाटकलाई उक्त विधाको पहिलो नेपाली कृति मानिन्छ । विक्रम सम्वत् १९३५ साल मंसिर ६ गते अछामको रिडीकोटमा जन्मेका र ६६ वर्षको उमेरमा विक्रम सम्बत् १९९१ साल जेठ ७ गते कैलालीको पहलमानपुरमा स्वर्गे भएका  पहलमान सिंह स्वारका अन्य चर्चित कृति ‘विष्णुमाया’, ‘रत्नावली’ र ‘प्रियदर्शिका’ पनि हुन् । सय वर्ष अगाडि नेपाली भाषा साहित्यको उन्नयनमा उनले खेलेको भूमिका आज पनि स्मरणयोग्य देखिन्छ तर उनी बितेको आठ दशक नपुग्दै उनको व्यक्तिगत जीवनका स्मृतिहरु भने कतै खण्डहर हुने त हैनन् भन्ने डरलाग्दो आशंका पनि उब्जेको छ यो घरको हालत हेरेर ।
मटेनामा हेर्ने कुरा अरु केही थिएनन् त्यही भत्केको बङ्गलाको आँगनमा उभिएर भावुक हुनु वाहेक ।  हामी पनि निकै बेर भावुक बन्यौं र ती ८४ वर्षका बृद्धपुरुषसित बिदा मागेर उही पुरानै बाटो फर्कियौँ । मटेनाबाट अलि पर चँडेली भन्ने यौटा सानो गाउँ रहेछ । तीसबत्तिस वटा मुस्लिम परिवारका घर भएको सो गाउँमा विकास र परिवर्तनको खासै पहुँच भएको अनुभूति भएन । पहलमान सिंह स्वारको नामको प्रतापले आफ्नै गाउँको शिरैबाट मटेनासम्म जाने बाटो पक्की भएर गाडीमोटर चल्न थाले भने आफ्ना पनि दिन सप्रिन्थे कि भन्न आश त्यो गाउँको बाटोमा भेटिएका बृद्ध जङ्गे मियाँलाई पनि रहेछ । चुँडेली गाउँको उजाड पाखोलाई पनि भर्खरै सरकारले साँफेबगर नगरपालिकामा गाभेको सुन्दा उनी पनि सपना सजाउन थालका रहेछन् । हामी भने साँफेबगर नगरपालिकाको नाम पहलमान सिंह नगरपालिका राखिएको भए देशमा एउटा सुन्दर साहित्यिक दृष्टान्त बन्थ्यो भन्ने रमाइलो रहर बोकेर ओरालो–ओरालो लागिरह्यौँ ।
बुढीगङ्गा नदीको दुवै किनारामा लमतन्न फैलिएको साँफे ‘बगर’ बिस्तारै भौतिक रुपले साँफे ‘नगर’मा परिणत हुँदै गरेको विकासोन्मुख बस्ती हो । हालसालै सरकारले यसलाई नगरपालिका घोषित गरेपछि त यहाँ जग्गाजमिनको भाउले आकाशै छुन लागेको छ । खोलाका ढुङ्गापनि सुनजस्तै महङ्गा हुन लागेका छन् । स्थानिय ‘बुढीगङ्गा’ होटेलका साहुजीले दङ्ग पर्दै बेलीबिस्तार लगाए । हामीलाई भने यहाँको बढ्दो जग्गाको भाउको हिसाब गन्नमा कुनै रुचि थिएन । हामीलाई त सुन्नु थियो साँफेबगरको मौलिक आत्माको ढुकढुकी र सुम्सुम्याउनु थियो यहाँका मानिसको मौन संवेदना । ‘मोर्निङ्वाक’ गरेर हामी साँफेबगरभित्रको साँफेबगरलार्ई खोज्न थाल्यौँ । आफ्नोपन बिर्सेर भौतिक पदार्थको जोहो मैं रमाउने अन्धदौडमा सामेल रहेछ यो पनि । नेपालका प्राय सबै नगर, बजारजस्तै चाउचाउ, बिस्कुट, पाउँच, बियर, मोबाइल, रेडिमेड कपडा तथा इलेक्ट्रोनिक्सका सामानले भरिएका पसल र होटेल, लज, रेस्टुँराले टनाटन देखिने साँफेबगरमा सबैभन्दा बढी छ्याप्छ्याप्ती दखिने चिज भने गुट्का खाएर यत्रतत्र फालिएका खोल र प्लाष्टिकका पोका रहेछन् । कम्मरबाट झर्लाझर्लाजस्तो पाइन्ट लगाएका युवाहरु र सुरुवालको पछाडीको मुजा परेको भाग ह्वात्तै देखिने गरि छोटो कुर्ता लगाएकी युवतीहरु ‘मोबाइल’ मा ‘इङ्गेज’ भएर बजारमा ओहोरदोहोर गरिरहेका छन् । यस्तो लाग्यो यिनीहरुलाई न यसको इतिहाससित चासो छ न भविष्यप्रति सरोकार । यिनबाट यहाँको मौलिकताका कथा तथा आञ्चलिकताका गाथा उघ्रिएलान् जस्तो लागेन । आधुनिकताका ‘साइडइफेक्ट’ ले आक्रान्त भएको साँफेबगर तरुनी नहुँदै बुढी भएकी युवती जस्तै लाग्यो हामीलाई । यहाँको परिवेशमा त्यही किसिमले मिसिने कोसिस ग¥यौँ हामीले पनि ।
अपरान्हतिर साँफेबगरसित मनमनै बिदा मागेर चौखुट्टेको उकालो लाग्दै गर्दा श्रीकोट भन्ने ठाउँमा रोकिएर एकछिन फेरि मटेनालाई फर्किएर हेर्न मन लाग्यो । घुम्म आकाशमा फैलिएको तुवाँलोले साँफेबगरलाई सर्लक्कै छोपेको छ । अलि तलतिर बुढीगङ्गा नदी पनि पातलोपातलो धर्सोजस्तो देखियो । पारी जयगढको अग्लो पहाडको काखमा रहेको मटेना पनि बयालपाटाको कुइँनेटोले छेकियो । यिनै धमिला–धमिला आकृतिभित्र म भने मेरो जन्मभूमि बाजुरातर्फ जाने नागबेली सडकको प्रतिबिम्ब खोज्न लागेँ, सुर्खेती कवि वासुदेव गौतम ‘आश्रित’ को कविताको पात्रजस्तै बनेर ः
‘हेरिरहें
जसरी हेरिरहन्छ पहाडले
आफ्नै छातीमा बगेको पहिरो
जसरी हेरिरहन्छ निर्जन मरुभूमि
आफूमाथिको आकाश
अर्थात् जसरी हेरिरहन्छ बालक
खसिरहेका ताराहरु
ठीक त्यसरी नै
चुपचाप चुपचाप हेरिरहेँ
तिमी हिँडेको बाटो’ ।