ग्रामीण वस्ती र कृषिका लागि युवाशक्ति

दयालबहादुर शाही
नेपाल गाउँ नै भरिएको मुलुक हो । ८० प्रतिशतभन्दा बढी नेपाली अझै पनि कृषि पेसामा आस्रित छन् । अन्य मुलुकमा १० प्रतिशत कृषि पेसामा संलग्न भए पनि आत्मनिर्भर छन् । नेपाल अझै खाद्यमा परनिर्भर छ । सिंचाइ सुविधाको अभाव, उन्नत मल, बीऊ, प्रविधिको न्यूनता, अदक्ष कृषि श्रमिक, युवा र दक्ष जनशक्तिमा कृषि पेसाप्रतिको अरुचि, विद्युत, सञ्चार, स्वास्थ्य सुविधाको वञ्चितकरण कृषि पेसा र आत्मनिर्भरताको शत्रु बनेका छन् । पढेपछि मल, दाउरा, ढुंगा बोक्ने जस्ता गाह्रो काम गर्नु हुँदैन, श्रम गर्दा मान घट्छ भन्नेजस्ता सतही र दरिद्री बढाउने गलत चिन्तनले गर्दा युवाशक्ति सेतो भेत हुँदैछ र अरुको पसिनामा बाँच्ने सेतो हात्ती हुँदैछ । परम्परागत खेती र पशुपालन शैलीले पनि युवालाई कृषि पेसाप्रति विकर्षण पैदा गराएको छ । हलो जोच्ने, गोडमेल गर्ने, भेडाबाख्रा, गाईभैंसी, एउटै परिवारले पाल्ने परिपाटीले गर्दा ग्रामीण युवाहरु त्यो संकटबाट मुक्ति खोज्दैछन् । बरु शहर पलायन भएर स्वाभीमानहीन काम गरेरै किन नहोस् राम्रो लगाउने मीठो खाने गलत बाटो रोज्दैछन् । बाख्रापालन, फलफूलखेती, तरकारी खेती, जडीबुटी खेती र अन्य बालीनालीका लागि सरकारी र गैरसरकारी क्षेत्रको सहयोगमा सामूहिक ढंगले युवाहरुलाई पेसाप्रति आकर्षित नगराइएमा आगामी दिनमा ग्रामीण वस्तीको अवस्था अब दयनीय, दारुण र नाजुक हुने निश्चित छ ।
ग्रामीण वस्तीलाई स्वावलम्बी बनाउन युवा पुस्तालाई स्वाभीमान, मेहनती, सीपयुक्त बनाउन हाम्रो साझा प्रयास हुनुपर्दछ । यसका लागि सामूहिक खेती र सहकारीको विकास माध्यम हुनसक्दछ । उदाहरणाको लागि कुनै पनि युवक बरु भारत हानिन तयार छ, ऊ एक वर्षभरि भेडाबाख्रा चराउन जान तयार छैन । अरु आइए, बीए पास गरेका युवापंक्ति भेडाबाख्रा वा भैंसी चराउन जानु अपमानित भएको महसुस गर्ने गर्दछ । तर २० जना परिवार मिलेर सामूहिक ढंगले भेडाबाख्रा पाल्छन् भने आफ्नो पालो आएको बेला जुनसुकै परिवारको युवा पनि जाबो एक महिना त हो नि भनेर त्यो श्रम गर्न तयार हुनसक्छ । यसरी युवाहरुलाई सिलाइ, बुनाइ, खेतीपाती र पशुपालनमा आकर्षित गरेमा उसले प्राप्त गरेको प्राविधिक ज्ञान र उसँग भएको श्रमको भण्डारको उपयोग हुन्छ । युवालाई पेसातिर आकर्षित गरेमा ग्रामीण अर्थतन्त्र जगैदेखि बलियो हुनेछ र शहरमा अनुत्पादक ढंगले दुःखी एवम् ग्रामीण जनशक्तिलाई प्रेरणा मिल्नेछ । ग्रामीण वस्तीको ढाड सेक्ने कारकतत्व जनजीविकाबाट चिप्लिएको अपराधी राजनीति आएको छ । सिद्धान्त सिद्धान्तका लागि होइन जीवनका लागि हो । पार्टी नेताको समृद्धिका लागि होइन जनजीविका र परिवर्तनका लागि हो । यस कुराको काम नगरी नेपालको युवाशक्ति नेताका लागि सौन्दर्यकर्मी मात्र बन्दै आएको छ । युवाशक्ति वस्तीहरुको सौन्दर्यकर्मी हुन सक्नुपर्दछ । वन विनास, अव्यवस्थित बसोबास, जडीबुटीको विनास, वन्यजन्तुको लोपले ग्रामीण वस्तीको मौलिकता हराउँदैछ । फल खाँदा हाँगो भाँच्ने मात्र होइन, जरा नै उखेल्ने प्रवृत्तिले गर्दा हाम्रो वन सम्पदा संकटमा छ । वहुमूल्य जडीबुटी लोपोन्मुख हुँदैछन् । संरक्षणको अभावमा धेरै उपयोगी हुने जडीबुटी एक वर्षका लागि उपयोगमा आए पनि पछिल्लो वर्ष खोज्दा नभेटिने अवस्था आएको छ । युवाशक्ति जनताको सौन्दर्यकर्मी बन्नुपर्नेमा नेताको सौन्दर्यकर्मी बन्नुपर्नेमा नेताको सौन्दर्यकर्मी बन्ने क्रम नरोकिएमा वस्तीको बेहाली बढ्नेछ । हाम्रो शिक्षा नीति नै खराब छ । ८० प्रतिशत कृषिमा आश्रित भएको कर्णाली र सुदूरपश्चिममा एउटासम्म पनि कृषि विश्वविद्यालय छैन । कृषि शिक्षाको सामान्य जानकारी प्रदान गर्ने विद्यालय र कलेजको संख्या पनि न्यून छ । यसले गर्दा शैक्षिक बेरोजगार, अदक्ष र अनुपयुक्त युवाशक्ति उत्पादन गर्ने यन्त्र हाम्रा विद्यालय भएका छन् । विचारहीन राजनीतिक दलका योजनाहीनतर महत्वकांक्षी नेता नै वर्तमान संकटका कारक हुन् । बेरोजगार युवाहरुलाई सपना बाँड्नु एक दशक वा आधा दशकसम्म शासनमा पुग्नु र राजनीतिलाई पैसा आर्जने उद्योग बनाउनु टाठाहरुको पेसा बनेको छ । त्यो ठगीको थाहा पाइसक्दासम्म ठगहरुले अर्को जालो तयार पार्ने, सोझा जनता र युवाशक्ति त्यसैमा फस्ने शृङ्खला जारी छ ।
युवालाई मेहनती बनाउने नाममा विचार नदिएर भेडा बनाउने र चेतना दिने नाममा श्रम गर्न नसिकाउनु दुवै शैली अपराधीपूर्ण छन् । अपराध आमाबाबु गुरुदेखि राज्य र राज्य र राजनीतिक दलसम्मबाट भएको छ । नागरिक समाज र समाजसेवा आन्दोलन पनि हाम्रो युवा शक्तिलाई दिशाहीन भूमरीको अभिन्न अंग बनाउनमा दोषी छ । विचार, विवेक, बहस र तर्क गर्ने मेहनती स्वावलम्वी, जनसेवी युवा नै समाजको गहना हो । भोक, रोग, गरिवी र अभावले ग्रस्त हाम्रा वस्तीले उच्च नैतिक आदर्शले युक्त दक्ष युवा जनशक्ति खोजिरहेको छ । आवश्यकता नै आविष्कारको जननी हो । राज्य, राजनीतिक दल, समाजसेवा, आन्दोलन र समाज स्वयम् सत्यप्रयास मागको आपूर्ति गर्नेतर्फ केन्द्रित हुनुपर्दछ । अँध्यारा वस्तीमा प्रकाश छर्ने असल सन्तानको जन्म ग्रामीण वस्तीको अनिवार्य सर्त हो । पर्यावरण, वनसंरक्षण, चेतना वृद्धि, नेतृत्व विकास, राष्ट्रिय अखण्डताको रक्षा, भातृत्वको भावना, श्रमको सम्मान, शोषणको विरोध, मानवअधिकारको रक्षाप्रति चनाखो युवा शक्तिले नै ग्रामीण वस्तीको स्वावलम्बन जस्तो कठिन चुनौतीको सामना गर्न सक्ने जनमत तयार गर्न सक्नेछ । माटोको भाषा बुझ्न सक्ने युवाहरुले नै नेतृत्वको खडेरीलाई हटाउन सक्नेछ ।
अनुशासन, सम्मान, अरुका कुरा सुन्न सक्ने धैर्य, प्रतिकूल घडीमा अडिन सक्ने अटलता, जोखिम मोल्न सक्ने साहस भएका शैलपुत्र र शैलपुत्रीहरुले कर्णाली र सुदूरपश्चिमका चुनौती र मागलाई सम्बोधन गर्न सक्नेछन् । आर्थिक क्रान्तिको नारा गायत्रीमन्त्र होइन । सरकारी तथा गैरसरकारी क्षेत्रबाट एकसाथ जडीबुटी प्रशोधन, औषधि उत्पादन, सामुदायिक खेती, जडीबुटीको संरक्षण, उत्पादन, प्रशोधन र व्यापार अभिवृद्धिमा प्रयास अघि बढाउनुपर्छ । ग्रामीण वस्तीलाई आधुनिक विश्वअर्थतन्त्रसँग प्रतिस्पर्धी बनाउन युवा शक्तिको महत्ववोध नगरिएको राजनीति, समाजसेवा, शिक्षानीति असारको महिनामा खेतीपातीको काम छाडी बालुवा चुट्ने हरिलट्ठकबाहेक केही पनि होइन । अब गाउँगाउँबाट राज्य, राजनीतिक दल र समाजसेवा आन्दोलनको अर्जुनदृष्टि यिनै सवालमा केन्द्रित होऊन् भनेर आवाज बुलुन्छ हुनु अपरिहार्य भइसकेको छ ।