‘आयोडिनयुक्त नुन नै किन प्रयोग गर्ने ?

आयोडिन मानिसका लागि दैनिक रुपमा नभई नहुने पोषक तत्व हो । शरिरमा आयोडिनको कमी भएमा सुस्त मनस्थिति, वामपुड्के हुने र गलगाँड आउने आदि जस्ता विकृतिहरु देखा पर्दछन् । खासगरि आयोडिनको कमी बाट मानसिक क्षमतामा कमी आउन सक्छ ।
नेपालमा अझै पनि आयोडिनको कमीबाट हुने विकृतिहरु बारे धेरै मानिसहरुलाई थाहा छैन र उनीहरुले सही मात्रामा आयोडिन नपाउनाले त्यस प्रकारका विकृतिहरु देखा परिरहेका छन् । यसैले आयोडिनको कमीबाट हुने रोकथाम तथा नियन्त्रण गर्न आयोडिन मिसाइएको प्याकेटको धुलो नुन नै दैनिक रुपमा प्रयोग गर्नु लाभदायक हुन्छ ।
सबै उमेरका मानिसहरु बालबालिका, युवा र वृद्ध–वृद्धा सबैलाई जीवन भरनै दैनिक रुपमा आयोडिनको आवश्यकता पर्ने हुनाले पनि यसको प्रयोग अपरिहार्य हुन जान्छ ।
हामीले बुझ्ने कुरा के हो भने आयोडिनको कमीले एकपटक मात्र कुनै शारीरिक समस्या एवम् विकृतिहरु देखा पर्न गएमा त्यसलाई कुनै पनि औषधी उपचारबाट निको पार्न असंभव छ । अतः यस्ता खालका विकृतिहरुबाट बच्ने र बचाउने एकमात्र सजिलो उपाय सबैले आयोडिनयुक्त नुन प्रयोग गर्नु नै बुद्धिमानी ठहरिन्छ । खासगरी अनमाले गर्भ रहनु अघि, गर्भावस्थाको समयमा र गर्भावस्थाको समय पछि पनि नियमित रुपमा आयोडिनयुक्त नुन खाने र खुवाउने गर्नु पर्दछ ।
आयोडिनको कमीबाट हुने विकृतिहरु
आयोनिको कमी हुन गएमा हाम्रो शारीरिक र मानसिक विकास दुबैमा अवरोध आउँछ, जसले गर्दा शरीरमा विभिन्न प्रकारका विकृतिहरु देखा पर्दछन् ति यस प्रकार छन् ।
(क) गलगाँड (कण्ठरोग)ः आयोडिनको कमीबाट शरीरमा देखापर्ने यो एक प्रकारको विकृति हो । आयोडिनको कमी भएमा घाँटीमा रहेको थाइराइड ग्रन्थीको अनावश्यक बृद्धि भई घाँटी सुन्निन जान्छ । यसैलाई गलगाँड आएको भनिन्छ ।
(ख) मानसिक र बौद्धिक क्षमताको कमीः आयोडिनको कमीले गर्दा बालबालिकाहरुको मानसिक तथा बौद्धिक क्षमतामा सुस्तपन आई पढाईमा समेत नकरात्मक असर देखा पर्दछ ।
(ग) लाटा–लठ्ब्रोपनः आमाको गर्भमा रहेको समयमा नै शिशुको दिमागको विकास भैरहेको हुन्छ । यदि त्यस समयमा आयोडिनको मात्रा नपुग भएको खण्डमा जन्मिने बालबालिकाहरु लाटो, लठेब्रो बामपुड्के, बहिरो, लुलो, सुस्त मनस्थितिको हुने संभावना धेरै हुन्छ ।
(घ) बाल मृत्युः आयोडिनको कमीले बालबालिकाहरुमा शारीरिक र मानसिक असन्तुलन हुनुका साथै उनीहरुको मृत्यु समेत हुन सक्दछ । बाहिरी संक्रमणसँग लड्न सक्ने क्षमता उनीहरुको शरीरमा प्रचुर मात्रामा आयोडिन नहुनाले यस्तो अवस्था देखा पर्ने गर्दछ ।
गर्भावस्थामा आयोडिनको महत्व
गर्भावस्थामा आयोडिनको कमी भएमा गर्भवती महिलाहरुबाट जन्मने सन्तानमा निम्नानुसारको विकृति देखा पर्न सक्छन् ।
गर्भ तुहिने
पुड्के हुनु
मृत शिशु जन्मनु
भकभके हुनु
डेढो हुनु
बहिरो हुनु
कम तौलका बच्चा जन्मिनु
त्यस्ता बच्चाको बालमृत्युदर बढी हुनु
शारीरिक विकासमा कमी आउनु
मानसिक विकास नहुन
बुझ्ने सिक्ने क्षमता कमी आउनु
आइ क्यू लेवल कम हुनु
लाटो लठेब्रो हुनु
मांसपेशी सम्बन्धीविकार देखिनु
स्कुलमा अपेक्षित परिक्षाफल प्राप्त नहुनु
गर्भावस्था देखि ३ बर्षसम्मको उमेरमा बच्चाको मस्तिष्कको विकास हुने अवस्था हो । यस अवस्थामा आयोडिनको कमी हुन गएमा बालबालिकाहरु मनसिक रुपमा कमजोर हुन जान्छन् ।
विश्व स्वास्थ्य संगठनको एक प्रतिवेदन अनुसार विश्वका १३० देशहरुका करिब ३८ प्रतिसत जनता आयोडिन कमीको खतरामा रहेका छन् । जसमध्ये ६० करोड जनता दक्षिणपुर्वी एशियामा छन् । विश्व स्वास्थ्य संगठनकै एक प्रतिवेदन बमोजिम सन् १९९० मा विश्वमा ५७ लाख बालबालिका सुस्तःमनस्थिति बाट पीडित छन्, जसमध्ये ७५ प्रतिसत विकासोन्मुख देशहरुमा रहेका छन् । साथै नेपालमा करिब २८५ हजार बालबालिका सुस्तःमनस्थितिबाट पीडित रहेका छन् ।
सुस्तःमनस्थिति भएका बालबालिकालाई आजीवन हेरचाहको आवश्यकता पर्दछ । आयोडिनको कमीले एकपटक शरीरमा विकृति देखा परिसकेपछि सोको उपचार छैन । अतः समयमै सचेत भई आजै देखि हामी सबैले आयोडिनयुक्त नुनको सेवन गरौं र अरुलाई पनि यहि सल्लाह दिऊँ ।