फेसवुकबाट ठगी आरोपमा पोखरेल पक्राउ

के तपाई सामाजिक सञ्जाल (फेसवुक) चलाउँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने होस् गर्नुहोस् । फेसवुककै माध्यमबाट साथी बनिएकाहरुले विभिन्न आश्वासन देखाएर तपाई ठग्न सक्छन् । फेसवुकको साथीको भर पर्दा बिर्तामोड नगरपालिका–७ निवासी सुष्मा प्रधान राई ठगिएकी छन् । फेसवुकमा बनाएको साथी माटिन एन्थोनी मार्टको भर पर्दा उनी ठगिएकी हुन् ।
उनीलाई मार्टले आफू यूकेमा रहेको र यूकेबाट एप्पलको आइफोन, ल्यापटप र आइप्याड पठाइदिएको भन्दै ठगी गरेको पीडित सुष्माले बताउनुभयो । माटिनले आफूसंग दुईलाख १९ हजार रुपैयाँ ठगी गरेको उजुरी गरेपछि इलाका प्रहरी कार्यालय बिर्तामोडले आवश्यक अनुसन्धान पछि कनकाई नगरपालिका–१ दुर्गापुर निवासी ३१ वर्षीय वोदप्रसाद पोखरेललाई पक्राउ गरेको छ ।

पक्राउ परेका पोखरेललाई प्रहरीले केन्द्रीय अनुसन्धान व्यूरोलाई वुझाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक केशवकुमार थेवेले जानकारी दिनुभयो । उहाँका अनुसार मार्टले राईलाई फेसवुक मार्फत एभरेष्ट वैंकमा दुई हजार अमेरिकी डलर जम्मा गर्न लगाएको र उक्त रकम पोखरेलले निकालेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सोही आधारमा माटिनको नाममा नक्कली आइडी बनाएर पोखरेलले उक्त रकम ठगी गरेको प्रहरीले जनाएको छ ।