मिर्गौलाका बिरामीले कस्तो खाने ?

 

मिर्गौलाका रोगमा आवश्यक केहि औषधिका साथै खानाको व्यवस्थापन पनि उत्तिकै जरुरत छ । मृगौलाका रोगमा खानाको व्यवस्थापन गर्दा बिरामीको व्यक्तिगत अवस्था, उचाई, तौल, लिंग, दैनिक काम, रोगको अवस्था, खाने बानी आदिलाई ध्यान दिनुपर्छ । मिर्गौला रोगमा खानाको व्यवस्थापन गर्नुको उद्देश्य भनेको मिर्गौलाको नियमित काम–कार्य सुचारु राख्न, शरीरको पोषण स्थितिमा सन्तुलन कायम राखी कुपोषणबाट बच्न तथा अन्य सङ्क्रमणबाट बचाउन, शरीरका तन्तुहरु टुक्रिने प्रक्रियालाई नियन्त्रणमा राख्न, शरीरका लागि अत्यावश्यक विभिन्न तत्वहरु जस्तै, सोडियम, पोटासियम, क्याल्सियम, फोस्फोरस आदिको सन्तुलन कायम राख्नु र शरीरमा पानीको सन्तुलन राख्नु हो ।

खानामा ध्यान दिनुपर्ने कुराहरु
प्रोटिनयुक्त खानेकुरा माछा, मासु, अण्डा, दूध, दही, दाल, गेडागुडी आदिले मिर्गौलाको काम बढाउने र मृगौलालाई दुःख हुने हुनाले कार्य क्षमताका आधारमा सिफारिस गरे भन्दा बढी खानु हुँदैन । शरीरमा प्रोटिनको अधिकतम तथा राम्रो उपयोगका लागि सिफारिस गरिएको प्रोटिनमध्ये ५० देखि ६० प्रतिशत उच्चकोटीको प्रोटिन भएका खानेकुरा माछा, मासु, अण्डा, दूध, दही आदि निर्धारित मात्रामा प्रत्येक खानामा पर्ने गरेर समावेश गर्नुपर्दछ ।
शक्तिबद्र्धक खानेकुराहरु, विभिन्न प्रकारका अन्न, चिल्लो पदार्थ, गुलियो पदार्थ आदि कम भएमा कुपोषित हुने र शरीरका तन्तु टुक्रिने हुनाले यस्ता खानेकुरा आवश्यक मात्रामा समावेश गर्नुपर्छ ।
कम वा शून्य प्रोटिन भएको तर शक्तिबद्र्धक खानेकुरा चिनी, ग्लुकोज, मह, चिल्लो पदार्थ, साबुदाना, आरारुट पाउडर आदि शरीरको आवश्यकता तथा अवस्था अनुसार दैनिक भोजनमा पर्याप्त मात्रामा समावेश गर्नुपर्छ । रक्तचाप बढी हुने, शरीर सुन्निने आदि समस्या हुनेले नुन निर्धारित मात्रामा मात्र प्रयोग गर्नुपर्छ । पिसाव कम भएमा वा शरीरमा सुजन (सुनिने समस्या) भएको बिरामीले भने पिसाबको मात्राको आधारमा मात्र पानी पिउनु पर्छ ।
रगतमा पोटासियमको मात्रा बढी भएको अवस्थामा पोटासियम कम भएका खानेकुरा खानामा समावेश गर्नुपर्दछ । रगतमा फोस्फोरस बढी भएमा फोस्फोरस कम भएका खानेकुरा खानामा समावेश गर्नुपर्छ । एकै प्रकारका खानेकुरा खाँदा विरामीलाई खानाप्रति अरुची हुने हुनाले
निम्न कुरामा ध्यान दिनु जरुरी हुन्छ ।
– निर्धारित चामल र पिठोको परिमाणबाट भात र रोटी मात्र नभई फ्राइ राइस, पुवा, खिर, पराठा, पुरी आदि बनाउन सकिन्छ ।
– सादा दूधको सट्टा सोही बराबरको दही, लस्सी र अन्य दूधका परिकार तयार गर्न सकिन्छ ।
– उसिनेको अण्डाको सट्टा अण्डाको बुर्जी, एग करी, एग फ्राइ राइस, एग सुप, अण्डा च्युरा आदि तयार गर्न सकिन्छ ।
– दूध,मासु र अण्डाको सट्टा सिफारिस गरिएको मात्रामा माछा, दाल, गेडागुडी आदि लिन सकिन्छ ।
– साबुदना, कस्टार्ड, कर्नफ्लोर आदि शुन्य प्रोटिन भएका खानेकुराका विभिन्न परिकार बनाएर खानाको स्वाद परिवर्तन गर्न सकिन्छ ।

मिर्गौलाका बिरामीले खान नहुने चिजहरुः

– दक्ष स्वास्थ्यकर्मीले सिफारिस गरेभन्दा बढी मात्रामा कुनैपनि खानेकुरा ।
– बदाम, काजु, ओखरजस्ता चिल्लोपदार्थ भएका खानेकुरा ।
– कोकाकोला, फेन्टाजस्ता बजारमा पाइने पेयपदार्थे ।
– मसला धेरै भएको खाना ।
– बजारमा देखिने हर्लिक्स, भिभा, बोर्नभिटा, कम्प्लान आदि ।
– दक्ष स्वास्थ्यकर्मीले सिफारिस गरेभन्दा बढी फलफूल पनि ।
– आलु चिप्स, नुनीलाबिस्कुटहरु, पापड, दालमोठ अदि पनिे ।
– पुरानो अचारजस्ता बढी नुन भएका अन्य खानेकुरा ।
– टीनमा बन्द गरिएका खानेकुरा ।
– चीज, बटरजस्ता खानेकुरा ।
– अजिनो मोटो, खाने सोडा, बेकिङ्ग पाउडर हालिएका खानेकुरा ।
– सोयाबिन सस तथा तयारी सूपहरु ।
– प्रशोधन गरिएका मासु, माछा ।
– चिया, ग्रीन टी आदि नपिउने ।

– बोक्रा तथा केलाउनुपर्ने सबै सागसब्जी केलाएर पखाल्ने ।
– सानो सानो टुक्रा पारेर काट्ने ।
– तरकारी मनतातो पानीमा २ घण्टा भिजाउने र भिजाएको पानी फाल्ने ।