मुटुमा समस्या हुने ६ कारण

डा. राजेन्द्र कोजू
मुटुरोग विशेषज्ञ
धुलिखेल अस्पताल 

विश्वमा मुटुरोगको समस्या विकराल बन्दै गइरहेको छ । अझ नेपालजस्तो मुलुकमा त यसको समस्या झन् बढेको पाइन्छ । संसारभरका मुटुरोगीहरूलाई हेर्दा मुटुरोग लाग्नुमा ६ कारण प्रमुख देखिन्छन्
– चुरोट सेवन
– उच्च रक्तचाप
– धेरै कोलेस्ट्रोल
– चिनीरोग
– मोटोपना
– पारिवारिक गुण
यी ६ कारणमध्ये पनि सबैभन्दा बढी प्रभावित चुरोट सेवन गर्नेहरू रहेका छन् । अझ पछिल्लो समय त चुरोट सेवन गर्नेको संख्या ह्वात्तै बढेको छ । जसले गर्दा उनीहरूमा मुटुरोग लाग्ने सम्भावना बढी छ । हरेक तीनजना मानिसमध्ये एकलाई उच्च रक्तचापले प्रभावित पारेको पाइन्छ । तत्काल डाइबेटिजमा धेरै समस्या नभए पनि यो रोगबाट प्रभावित हुनेको संख्या अपत्यारिलो रूपमा बढिरहेको छ । त्यस्तै, मानिसमा मोटोपना झन् समस्याको रूपमा अगाडि देखिएको छ । सहरी क्षेत्रका मानिस अल्छी भएका छन् । जसले गर्दा शारीरिक श्रम या हिँडडुल गर्न पनि रुचाउँदैनन् । त्यसैले सकेसम्म छोटो दूरीको यात्रामा सवारीसाधन प्रयोग गर्नुभन्दा हिँड्ने बानी बसाल्नु राम्रो हुन्छ । खानेकुरा ताजा र सफा नहुँदा मानिसमा कोलेस्ट्रोलको मात्रा पनि बढिरहेको छ ।


कसरी लाग्छ

मुटुलाई परिचालित गर्ने धमनीहरू राम्रो चिटिक्क परेको सफा हुनुपर्छ । जहाँ कुनै भल्ब बन्द नहुने गरी लेउ नलागेको हुनुपर्छ । तर चिल्लो, गुलियो खाना खाँदा, चुरोट अल्कोहलजस्ता हानिकारक वस्तुको सेवन गर्दा बिस्तारै धमनीमा असर पर्न थाल्छ । यसरी फोहोर जमेको स्थानमा कुनै पनि समय घाउ लाग्न सक्छ । जसले रगत जम्मा भएर हर्टअट्याक हुने सम्भावना बढ्छ । यस्तै, कारणले मुटुसम्बन्धी विभिन्न रोग निम्त्याउन सक्छ ।
कम उमेरमा पनि मुटुको रोग
४० वर्ष उमेर पूरा भएकामा मात्रै मुटुरोग लाग्छ भन्ने मान्यता पछिल्लो समय झुटो साबित हुन थालेको छ । अहिले २० वर्षमाथिका मानिसमा पनि मुटुरोग देखापर्न थालेको छ । यसको प्रमुख कारण धुुम्रपान तथा मद्यपान नै हो ।
मुटुरोग कम गर्ने तीन तरिका
व्यक्ति सचेत हुनु
मुटुसम्बन्धी रोग लाग्न नदिन तथा लागे पनि कम गराउन सबैभन्दा पहिला आफैँ सचेत हुनुपर्छ । व्यक्ति स्वयंले आफ्नो स्वास्थ्यप्रति सजग र सचेत भएमा रोग लाग्नबाट जोगिन सकिन्छ । विभिन्न सञ्चारमाध्यम र प्रचार–प्रसारका कारण अहिले ज्ञानको कमी छैन । सकेसम्म चुरोट र चिल्लो खान हुँदैन, मर्निङवाक गर्नु राम्रो हुन्छ । तर, यस्तो सबै थाहा हुँदाहुँदै पनि हामी अल्छी गरेर त्यसको पालना गर्दैनौँ । जसले गर्दा रोग बल्झिने या निम्तिने सम्भावना रहन्छ ।
सामाजिक परिवर्तन आवश्यक
नेपाली समाजमा धेरै भोजभतेर या जमघट हुन्छ । यस्ता जमघटमा खाने परिकारमा सधैँ चिल्लो, पिरो, अल्कोहल या चुरोट समावेश गरिएको हुन्छ । स्वस्थ रहन यस्ता सामाजिक संस्कारहरूमा पनि परिवर्तन गर्नु आवश्यक छ । धुम्रपान, मद्यपानजस्ता हानिकारक वस्तुलाई सामाजिक बहिष्कार या कमभन्दा कम प्रयोग गर्ने वातावरण बनाउन सकिन्छ ।
सरकारी पहलकदमी
सरकारले लागू गरेको सार्वजनिक स्थानमा धुम्रपान तथा मद्यपान गर्न नपाउने कानुनलाई कडाइका साथ लागू गर्नुपर्छ । यस्ता वस्तु सेवन गर्न प्रेरित गर्ने विज्ञापन तथा होडिङबोर्डहरू हटाउन सक्नुपर्छ । सरकारले यस्ता नीतिमा कडाइ गर्न नसक्दा पनि मुटुरोगी बढिरहेका छन् । नेपालमा मुटुरोगको उपचार गर्ने अस्पताल एकदमै न्यून छन् ।