मुगुमा बालअनाथआश्रम

विकास पहुँचका हिसाबले पछि रहेको मुगुमा पहिलो बालअनाथआश्रम सञ्चालन भएको छ । विभिन्न कारणवस अनाथ हुन पुगेका बालबालिकाहरुको संरक्षण, पालन–पोषण, शिक्षा–दिक्षा दिने उद्देश्यसाथ सञ्चालनमा ल्याइएको बताउँदै बाल अनाथआश्रमका संस्थापक अध्यक्ष अमरराज बानियाँले भने “विभिन्न कारणवस अनाथ भई आफन्तबाट संरक्षण नपाएर नाजुक अवस्थामा रहेका बालबालिकाहरुलाई मानवियताका हिसाबले गास, वास, कपास, शिक्षा र स्वास्थ्य सुबिधा दिने गरि २०७१ माघमा स्थापना गरेर हाल सञ्चालनमा ल्याएका छौं ।”
विगत देखि मुगुलगायत विभिन्न दुर्गम जिल्लाका अनाथ बालबालिकालाई विभिन्न प्रलोभन देखाई शहरमा कतै बेचेको त कतै श्रममा लगाएको तितो सत्य सर्वत्र रहेको वर्तमान परिवेशमा जिल्लामै अनाथ आश्रम स्थापना हुनु र विगतका बेथिति सम्झीरहेका स्थानियहरुले सकारात्मक रुपमा लिएका छन् । भविष्यमा यो बालअनाथ आश्रमलाई नमुना बनाउँदै थप विस्तार गर्ने प्रतिवद्धता व्यक्त गर्दै बानियाँले भने “समुन्नत समाज निर्माण गर्ने उद्देश्यसाथ यो बर्ष कम्तिमा १५ जना अनाथ बालबालिकालाई आश्रममा व्यवस्थापन गर्नेछौं । दाश्रोवर्ष विभिन्न गा.वि.स. पुगेर सर्वेक्षण गरिअनाथ तथा नाजुक अवस्थामा रहेका बालबालिकाको खोजी गर्दै व्यवस्थापन गर्नेछौं । मुगुका बालबालिकालाई प्राथमिकता दिदै आगामी बर्षहरुमा कर्णालीका सबै जिल्लामा खोजी गर्दै समस्यामा परेकालाई संभव भएसम्म व्यवस्थापन गर्दै जानेछौं ।”
यसखालको सेवामूलक कार्यलाई सफल बनाउन विभिन्न सरकारी तथा गैरसरकारी निकायसंग समन्वय गर्दै अघि बढाउने बताउँदै बानियाँले भने “यसका लागि हामी सबैसंग समन्वय तथा सहयोगको अपेक्षा लिएका छौं ।” हालसम्म १० बर्ष भित्रका ६ जना अनाथ बालबालिकालाई भर्ना गरिसकेको, एकजना पूर्णकालिन स्वयंसेवक शिक्षीका, ५ कोठे भवनको व्यवस्था गर्दै अघि बढेको बानियाँले बताए । अनाथ बालबालिकाको मुख्य स्वामित्व नजिकका आफन्तको हुने र बाँकी सबै जिम्मेवारी हाम्रो हुनेछ साथै यो कठिन एवं गौरवपूर्ण कामको लागि आमरुपमा सहयोग गर्न अनुरोध गर्दै बानियाँले भने “हालसम्म कुनैपनि दाता नभेटिएको, आफ्नै संस्थाका साथीहरुको सक्रियतामा सम्पूर्ण खर्च व्यहोरिएको, बार्षिक कम्तिमा ८लाख २१ हजार खर्चहुने देखिन्छ । यसका लागि संस्थापक अध्यक्षको हिसाबले सबैसंग सहयोगको अपेक्षा गर्दछु ।” भविष्यमा १० बर्ष माथिका बालबालिकालाई समेत पढाउने र प्रवेशिका पछि कृषि जे.टि.ए.सम्मको अध्ययन गराई आत्मनिर्भर गराउने लक्ष्य लिएको अनाथ आश्रमको यो कार्य सराहनिय देखिन्छ किनभने कृषिमार्फत् पर्याप्त संभावना भएको कर्णालीमा कृषि विषय पढेकाहरुको भूमिका महत्वपूर्ण हुनेछ । 