६५ प्रतिशत मत खस्यो पहिलो चरणमा

काठमाडौं । मंसिर १० गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत मत खसेको छ ।

 

चुनाव सम्पन्न भएपछि साँझ ६ बजे आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले ३२ वटा जिल्लामा निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिए । मतपेटिका जिल्ला सदरमुकाममा ल्याउने काम भइरहेको र अर्को चरणको निर्वाचन नभएसम्म सुरक्षित रूपमा राखिने आयोगले जनाएको छ ।

 

उच्च पहाडी र हिमाली ३२ जिल्लामा आज पहिलो चरणको निर्वाचन भएको हो । १११ सिटका लागि ७०२ उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभाको ३७ सिटका लागि २८२ र प्रदेशसभाको ७४ स्थानका लागि ४२० उम्मेदवार चुनावी मैदानमा छन् । बाँकी ४५ जिल्लामा भने मंसिर २१ गते निर्वाचन हुँदैछ ।

रुकुमको दुईवटा मतदान कन्द्रमा भने पुनः मतदान गरिने भएको छ । रुकुम पश्चिमको बाँचीकोट गाउँपालिका–५ स्थित रत्ना निमावि मतदान केन्द्र र आठबीसकोट नगरपालिका–१२ गत्तासैना मतदान केन्द्रमा पुनःमतदान गरिने रुकुम पश्चिमका मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए । यी दुई मतदान केन्द्रमा आगामी मंसिर २१ गते मतदान गरिने उनले बताए । रत्ना निमाविको मतदान केन्द्रमा प्रतिनिधिसभाको र गत्तासैना मतदान केन्द्रमा समानुपातिकतर्फको मात्र मतदान हुने उनले बताए ।

 

दुवै मतदान केन्द्रको मतपेटिकामा एसिड राख्ने मान्छेको पहिचान हुन नसकेको र उनीहरुको खोजीकार्य जारी रहेको रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए । रत्ना निमाविमा २५० र गत्तासैनामा ३६५ मत खसेपछि एसिड परेर मतपत्र जलेकाले मतदान स्थगित भएको थियो ।