मुख्यमन्त्री पौडेललाई केशव स्थापितले मुख छाडेपछि


हेटौंडा कात्तिक १६। मुख्यमन्त्री डोरमणि पौडेललाई मन्त्रिपरिषद् बैठकमै भौतिक पूर्वाधारमन्त्री केशव स्थापितले मुख छाडेपछि बढेको विवाद उत्कर्षमा पुगेको छ । आफूमाथि मन्त्री स्थापितले गालीगलौज गरेपछि मुख्यमन्त्री पौडेल उनलाई हटाउने लबिङ गर्न काठमाडौं गएका छन् ।

बैठकमा भनाभन भएपछि स्थापितलाई हटाउने निचोडमा मुख्यमन्त्री पुगेको उनको सचिवालयले जनाएको छ । बैठकमा मुख्यमन्त्रीले प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको काम सुस्त भएको बताएपछि स्थापितले प्रतिवाद गरेका थिए ।

 

बैठक सकिनै लाग्दा स्थापित एक्कासि आक्रोशित भएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले जानकारी दिए । ‘बैठक सकिनै लागेको थियो, भौतिक मन्त्रालयको कुनै एजेन्डा पनि थिएन’, उनले भने, ‘मेरो एउटा कुरा छ भन्दै मन्त्री स्थापितले आफ्ना असन्तुष्टि राख्नुभयो, कुरा राख्दै जाँदा गालीगलौजमा समेत उत्रिएपछि बैठकको माहोल बिग्रियो ।’

 

‘मन्त्री स्थापितले संसदीय र मन्त्रीको पनि मर्यादा राख्न सक्नुभएन’, एक मन्त्रीले भने, ‘यो अवस्था हेर्दा दुवै जना एकै क्याबिनेटमा बसेर काम गर्न सक्ने अवस्था छैन ।’

 

बुधबारको बैठकमा सहकारीसम्बन्धी ऐन, जिल्ला समन्वय समितिको कार्यक्षेत्र, नीति तथा योजना आयोगका कामबारे छलफल भएको थियो । बैठकमा आर्थिक मामिलामन्त्री कैलाश ढुंगेल, आन्तरिक मामिला तथा कानुनमन्त्री जमकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री अरुण नेपाल र भौतिक पूर्वाधार मन्त्री केशव स्थापित सहभागी थिए ।

 

स्थापितसँगको विवादपछि मुख्यमन्त्री पौडेल बिहीबार दिउँसो काठमाडौं गएका हुन् । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था बुझ्न काठमाडौं गएको बताइए पनि यात्राको उद्देश्य स्थापितलाई हटाउने लबिङ गर्नु रहेको उनको सचिवालयका एक सदस्यले दाबी गरे । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।