इथियोपियाका पूर्वप्रधानमन्त्रीले गरे पोखरा भ्रमण

पोखरा,कार्तिक १९ । इथियोपियाका पूर्वप्रधानमन्त्री लेन तम्राटले नेपालको पर्यटकीय नगर पोखरा भ्रमण गरेका छन्। प्रसिद्ध व्यावसायिक संस्था अमेरिकन एक्स्प्रेसका पूर्वकार्यकारी अधिकृतसहित १२ जना संलग्न टोलीको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री तम्राट पोखरा भ्रमणमा आएका हुन्।

 

आइतबार उक्त टोलीले पोखरास्थित रुपाकोट तथा बेगनासको भ्रमण गरेको छ। आफ्नो तीन दिने भ्रमणका क्रममा उक्त टोलीले पोखरामा विदेशी लगानीको सम्भाव्यता अध्ययनसमेत गरेको युवा व्यवसायी तथा समाजसेवी पदमराज पौडेलले जानकारी दिए।

 

नेपालमा स्थिर सरकार गठन भएसँगै विकासको गति सहज भएको भन्दै आर्थिकस्तर बलियो बनाउन सकिने टोलीले विश्वास व्यक्त गरेको छ।

 

पूर्वप्रधानमन्त्री तम्राटको टोलीले नेपालमा पर्यटन र कृषिको क्षेत्रमा उल्लेख्य फड्को मार्न सक्ने सम्भावना रहेको ठहर गरेको छ।

 

भ्रमण दलका सदस्य तथा अमेरिकन एक्स्प्रेसका पूर्वकार्यकारी अधिकृत बेन स्मिथले भने, ‘नेपालको विकासका लागि पर्यटन र कृषि क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्छ।

 

यसैबीच टोलीले पोखरा महानगरपालिका–३१, बेगनासस्थित आनन्द ज्योति माविको स्थलगत अवलोकन भ्रमण गर्दै आर्थिक सहयोगसमेत गरेको छ।

 

उक्त विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि २ हजार ५ सय अमेरिकी डलर टोलीले सहयोग गरेको हो। कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री एवं संघीय सभासद् खगराज अधिकारीले यस क्षेत्रमा भएको लेन सम्राटको भ्रमणले समग्र विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

रासस