महासमिति बैठक हप्ता देखि १० दिनसम्म सर्न सक्ने काङ्ग्रेस महामन्त्री कोइराला

काठमाडौ कार्तिक १९ नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आउँदो निर्वाचनमा काङ्ग्रेस पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोह कार्यक्रममा उहाँले जनताको रक्षा गर्न उभिने पार्टी भएकाले अबको निर्वाचनमा काङ्ग्रेस ठूलो दल बन्ने दाबी गर्नुभयो ।

 

उहाँले काङ्ग्रेसको महासमिति बैठक सर्ने पनि बताउनुभयो । महामन्त्री कोइरालाले महासमिति बैठकका विषयमा केन्द्रीय कार्यसमितिमा छलफल नभएका कारण मिति सर्छ भन्नुभयो । महासमिति बैठक एक हप्तादेखि १० दिनसम्म पछि सर्न सक्ने उहाँले बताउनुभयो । महाधिवेशनमा कसलाई सभापति बनाउने भन्ने विषयमा साथीहरुसँगको रायअनुसार अघि बढ्ने महामन्त्री कोइरालाले बताउनुभयो ।

 

काङ्ग्रेस अहिले पनि शक्तिशाली पार्टी रहेको बताउँदै उहाँले भन्नुभयो, नेकपा एमाले र माओवादी मिल्दा पनि काङ्ग्रेस एकबद्ध भएको खण्डमा काङ्ग्रेसलाई जित्न सक्दैनन् । कम्युनिष्ट पार्टी लोकतन्त्रमा विश्वास नराख्ने पार्टी भएको भन्दै उहाँले थप्नुभयो, अहिले आएको परिवर्तनका कारण उनीहरुमा परिवर्तन देखिएको हो तर उनीहरु लोकतन्त्रवादी होइनन् ।

 

फरक प्रसंगमा बोल्दै उहाँले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गामा सिटि हल बन्न नदिने बताउनुभयो । अस्पतालको गुरु योजनाअनुसार प्रतिष्ठान बनाउनु पर्ने भन्दै उहाँले पहिले नै जग्गा अपुग भएका कारण गैंडाकोटमा आवास गृह बनाइएको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो यस विषयमा म पुष्पकमल दाहालज्यूसँग छलफल गर्छु ।