बाबु बनेर भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने थुनामा

काठमाडौ कार्तिक १९   आफ्नै बाबु बनेर सात भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने सत्यनारायण पोद्धारलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

 

विराटनगर महानगरपालिका–१ घर भइ कटहरी गाउँपालिका–१ मा बस्दै आएका ५५ वर्षीय पोद्धारलाई तत्कालको प्रमाणका आधारमा निर्दोष भन्न नसकिने भन्दै अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

 

जिल्ला अदालत मोरङका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले पोद्धारले कीर्ते गरेर झुटा विवरण पेस गरी नागरिकता बनाइदिएको देखिएको उल्लेख गर्दै पुर्पक्षकालागि थुनामा राख्न आदेश दिएपछि उनलाई हाटखोला स्थित जिल्ला कारागार चलान गरिएको छ ।

 

अदालतका श्रेस्तेदार ईश्वरमणि ओझाले मुलुकी ऐन फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम तत्काकालाई पुर्पक्षमा राखेर मुद्दाको अनुसन्धान अघि बढाउन आदेश भएको जानकारी दिए ।

 

पोद्धारले भारतीय नागरिकलाई आफ्नो छोरा बनाउँदै नागरिकता दिलाउने गरेको आरोपमा प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा २०७१ पुसयता पोद्धारले सात भारतीय नागरिकलाई आफ्नो छोरा भएको भन्दै झुटा विवरण पेस गरी नागरिकता बनादिएको खुलेको छ । अदालतमा बयानका क्रममा नागरिकता बनाइदिएका सातैजना आफ्नै छोरा भएको बयान दिएका उनले श्रीमतीको नाम भने गल्ती भएको स्वीकार गरेका थिए ।

 

विराटनगर महानगरका प्रवक्ताको सिफारिसमा भारतीयलाई नागरिकता, १६ विरुद्ध मुद्दा
सोमबार उनीसँग अदालतबाट बयान लिने काम भएको थियो । बयान सकिन साथ भएको थुनछेक बहसपछि उनलाई थुनामा राख्न अदालतले आदेश दिएको हो ।
आइतबार झुटा विवरण पेस गरी नागरिकता बनाएको आरोपमा पोद्धार सहित १६ जना विरुद्ध जिल्ला अदालत मोरङमा झुटा विवरण पेश गरी विदेशीले नागरिकता लिएको, दिलाएको मुद्दा दायर गरिएको थियो ।

 

वडाध्यक्ष भागे

त्यस मुद्दामा प्रतिवादी बनाइएका विराटनगर महानगरपालिका–१ का वडाअध्यक्ष उद्धव अर्याल, वडासदस्य रमेश साह, वडासचिव पुष्पा तिम्सिनासहित १५ जना फरार छन् । पोद्धार पक्राउ परेपछि वडाअध्यक्ष अर्यालले दुईजना भारतीयलाई नेपाली नागरिकताका लागि सिफारिस गरेको खुलेको थियो ।

वडासदस्य साह साक्षी बसेका छन् । पोद्धार पक्राउको खवर पाएसंगै अर्याल, साह र सचिव तिम्सिना सम्पर्कमा नरहेको प्रहरीले जानकारी दिएको छ ।

श्रेस्तेदार ओझाका अनुसार झुटा विवरण पेश गरी पोद्धारले छोरा बनाएर नेपाली नागरिकता दिलाएका भारतीयहरुमा २२ वर्षीय संजीव पोद्धार, २० वर्षीय धिरज पोद्धार, जितेन्द्र पोद्धार, २५ वर्षीय राजेन्द्र पोद्धार, रोशनकुमार पोद्धार, १८ वर्षीय मिथिलेश पोद्धार र १९ वर्षीय पवन पोद्धार छन् । उनीहरुको भारतीय थर पनि पोद्धार नै रहेको खुलेको छ ।

नागरिकता लिने सातै जनालाई मुद्धाको प्रतिवादी बनाइएको छ । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

सर्जमिन बस्ने पनि अभियुक्त

भारतीय नागरिकलाई नेपाली नागरिकता दिन सर्जमिन गर्नेहरु विराटनगर–१ की ४७ वर्षीय सीमादेवी राम, ५३ वर्षीय मनोज हरिजन, ६४ वर्षीय छोटेलाल मुखिया, सुनसरीको कोसी–१ का ४५ वर्षीय सुरेश पोद्धार र मोरङको कटहरी गाउँपालिका १ का ४३ वर्षीय बैजनाथ शर्मालाई समेत मुद्धाको अभियुक्त बनाइएको छ ।

 

मुख्य मुद्दामा अभियुक्त बनाइएका सत्यनारायणले कान्छी श्रीमती पट्टीका छोराहरु देखाउँदै मोटो रकम लिएर भारतीयलाई नेपाली नागरिकता दिलाउने गरेको अनुसन्धानबाट खुलेको एक प्रहरी अधिकारीले बताए ।

 

मोरङ प्रहरीले कीर्ते जालसाजी गरेर विदेशीलाई नागरिकता दिलाएको अभियोगमा पोद्धारलाई पक्राउ गरेर अनुसन्धान थालेपछि सात भारतीय नागरिकलाई उनै बावु बनेर नेपाली नागरिकता दिलाएको खुलेको हो । उनलाई जनप्रतिनिधिले समेत सघाएको खुलेको छ ।अन्पुर्ण