ज्येष्ठ नागरिकहरु सरकारसँग रुष्ट सामाजिक सुरक्षा भत्ता बढाउने प्रचण्डको घोषणा

नेपाल कम्युनिस्ट पार्टी  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । तत्कालिन एमाले र माओवादीले चुनावमा वृद्धहरुका लागि भत्ता बढाउने चुनावी घोषणा गरे पनि भत्ता नबढाइएपछि ज्येष्ठ नागरिकहरु सरकारसँग रुष्ट बनेका थिए । अध्यक्ष प्रचण्डले आगामी आर्थिक वर्षको बजेटबाट ज्येष्ठ नागरिकका लागि भत्ता बढाउने घोषणा गरेका हुन् ।

 

चुनावमा जाँदा वृद्धवृद्धाको भत्ता बृद्धि गर्ने भनेपनि वृद्धभत्ता नदिँदा ‘बुढाबुढी’हरु रिसाएको सोमवार मोरङको विराटनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले बताए । प्रचण्डले चालू आर्थिक वर्षमै पनि बृद्धभत्ता बढाउने विषयमा छलफल चलिरहेको बताए ।

 

अध्यक्ष प्रचण्डले जनतालाई ठूला–ठूला योजना र रणनीतिक महत्वका योजनाको विषयमा बिस्तारै बुझाउँदै लगेपनि अहिलेका लागि सडकका खाल्डाखुल्टी पुर्ने कामलाई सरकारले प्राथमिकता दिने बताए ।

 

‘प्रधानमन्त्री र मेरोबीचमा कुरा भएको छ । सडकका खाल्डा खुल्टी अब छिट्टै पुरिँदै छन्,’ प्रचण्डले भने, ‘सडकका खाल्डाखुल्टी पुरिएपछि कांग्रेसको विरोध गर्ने बाटो पनि बन्द हुन्छ । त्यसपछि कांग्रेसले के भन्दो रहेछ हेरौंला ।

 

पार्टी एकताको विषय छिटोभन्दा छिटो टुंग्याइने अध्यक्ष प्रचण्डको भनाइ थियो । आफूले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालसँग छलफल भएको प्रचण्डले बताए ।