छिट्टै कानुनी कठघरामा आउँछन् निर्मलाका हत्यारा : गृहमन्त्री

काठमाडौं, कात्तिक २२ । गृहमन्त्री रामबहादुर थापाले बलात्कारी पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका हत्यारा छिट्टै कानूनको कठघरामा आउने दावी गरेका छन् ।

 

रिपोर्टस क्लवले आयोजना गरेको देउसीभैलो कार्यक्रमपछि बोल्दै गृहमन्त्री थापाले सरकारले अपराधिहरुलाई कानुनी कठघरामा परिरहेको भन्दै निर्मला पन्तका हत्यारा पनि छिट्टै कठघरामा आउने बताए ।

 

‘तपाई अहिले जेलमा गएर हेर्नुभयो भने त्यहाँ बलात्कारीहरुको संख्या ठूलो छ । जबरजस्तीकरणी गर्ने, व्यभिचार गर्नेहरुको संख्या ठूलो मात्रामा छ । बलात्कारीहरुलाई कारबाही भैरहेको छ ।’ उनले अघि थपे, ‘जहाँसम्म निर्मला प्रकरणको कुरा हो, त्यो विषयहरुलाई कानूनको कठघरामा ल्याउने प्रक्रिया जारी छ । दोषी र अपराधीहरु कानूनको कठघरामा छिट्टै आउँछन् ।’

 

यस्सतै, गृहमन्त्री थापाले सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गरिरहेको बताउँदै आगामी दिनमा अझै कठोरताका साथ प्रस्तुत हुने चेतावनी दिए । ‘भ्रष्टहरुलाई कारबाही गर्ने र जेल हाल्ने प्रक्रिया चलिरहेकै छ ।

 

देशबाट भ्रष्टाचार, तस्करी र बेथितिहरु ती अपराधहरुलाई निर्मुल गर्ने, नियन्त्रण गर्ने अभियान चलिरहेको छ,’ उनले भने, ‘भ्रष्टाचारीहरुलाई जेल हाल्ने प्रक्रियापनि चलिरहेको छ । निश्चयपनि यो अलिक मन्द छ । अब आउने दिनहरुमा त्यो प्रक्रियाहरुलाई अझै तीव्र पार्नेछौं । अझै व्यापक बनाउनेछौं ।’