तिहार सम्पन्न , छठको रौनक शुरु

काठमाडौं, कात्तिक २४। अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेस तथा मिथिलाञ्चलवासी छठको तयारीमा जुटेका छन् । नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त छन् ।

 

मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न ग्रामीणस्तरमा रहेका पोखरी, इनार, तालतलैयालगायत जलाशयलाई विभिन्न संघसंस्था र युवा क्लबले सरसफाइ गरी बिजुली, पण्डाललगायतको व्यवस्था मिलाउन थालेका छन् ।

 

चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा समापन हुने गर्छ । छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्य वस्तु अनिर्वाय रुपमा बार्ने चलन छ ।

 

पछिल्लो समय मधेसी समुदायका बीच मात्र होइन छठ पहाडी समुदायका बीचमा समेत लोकप्रिय हुँदै गएको छ । दीपावलीको दिनदेखि छठका गीत बजाउने क्रम बढेको छ । तिहार र छठ लगभग सँगसँगै शुरु भइसक्छ ।