स्थानीयले नै घर भत्काएर सडक फराकिलो बनाए

म्याग्दी, कात्तिक २४। धेरै ठाउँमा सडक विस्तारका लागि बल प्रयोग गरेर संरचना हटाउनुपरेको अवस्थामा जलजला गाउँपालिका–७ मिलनचोकका बासिन्दाले आफँै घर भत्काएर सडक फराकिलो बनाएका छन् ।

 

मिलनचोकदेखि लेकफाँट र शालीजा जोड्ने सडक स्तरोन्नति योजना कार्यान्वयनका लागि सडक छेउछाउका ११ घर पूर्ण र करीब ६० घर आंशिक रूपमा भत्काएर सडक फराकिलो बनाउन सहयोग गरेको स्थानीयवासी रामकृष्ण आचार्यले बताउनुभयो ।

 

साढे दुई मिटर मात्र फराकिलो र साँघुरो सडकलाई संरचना हटाएर हाल आठ मिटरको फराकिलो बनाइएको छ । पहिला दुईतर्फबाट गाडी आउँदा जाम हुने सडक अहिले दुईतर्फ सहज रूपमा सवारी आवतजावत गर्न सक्ने र धुलो पनि नउड्ने भएको स्थानीयवासी बाबुराम कार्कीले बताउनुभयो ।

 

सडक ढलान र नाली बनाउन पाँच÷पाँच दिनका दरले श्रमदानसमेत गरेको कार्कीले बताउनुभयो । गाउँपालिकाले रु २० लाख विनियोजन गरेको २०० मिटर सडक ढलान गर्ने र नाली बनाउने योजना पूरा गर्न आर्थिक सङ्कलनको तयारी भएको स्थानीय देवबहादुर पुनको भनाइ छ ।

 

सडकको दुवैतर्फ नाली बनाइएको छ । ७० प्रतिशतभन्दा बढी काम सकिएको छ । उपभोक्ताले रु दुई लाख ३७ हजार ७८० बराबरको श्रमदान गर्नुपर्ने लागत अनुमानमा उल्लेख छ । सडक फराकिलो बनाएपछि मिलनचोकको सुन्दरता नै फेरिएको छ ।

 

उपभोक्ता समितिका अध्यक्ष लालवीर पुनले २०७५ असोज ५ गते सम्झौता भएको योजना उपभोक्ताको सहयोग र सक्रियताका कारण लक्ष्यअघि नै सकिने बताउनुभयो । २०७६ वैशाख १५ गतेभित्र योजना सम्पन्न गर्ने गाउँपालिकासँग सम्झौता भएको छ ।

 

जनसहभागिता र समुदायको सहयोगका कारण मिलनचोकको सडक ढलान योजना नमूना र उदाहरणीय भएको वडाध्यक्ष टुङ्गनाथ शर्माले बताउनुभयो । फराकिलो बनाउने, नाली र ढलान गर्ने काम सकिएपछि यसलाई न्यूरोड नामाकरण गर्ने मिलनचोकवासीको तयारी छ ।रासस