जनआन्दोलनका कमाण्डर स्व. सिंहको सम्झना गरिँदै

काठमाडौं कात्तिक २४ । २०४६ सालको जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको १०४औँ जन्मजयन्ती। गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा शनिबार बिहान आयोजना गरेको कार्यक्रममा स्व। सिंहको योगदानको चर्चा गरिँदै उनको शालिकमा माल्यार्पण गरियो।

 

कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व। सिंहको महत्वपूर्ण भूमिका रहेको बताए। ’स्व‍। सिंह संघर्षशील, त्यागी, लौहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्ने नेता हुनुहुन्थ्यो’ उनले भने।

 

उनले विधानअनुुसार पार्टी सभापति चल्न नसकेको आरोप लगाए। विधानभन्दा सभापति माथि हुँदा पार्टी यो हालतमा आइपुगेको उनको भनाइ छ।

 

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य डिला सङ्ग्रौला, काङ्ग्रेस काठमाडौँ पार्टी सभापति सबुज बानियाँ, सांसदहरु, भ्रातृ संस्थाका अध्यक्ष एवं पदाधिकारी उपस्थित थिए। १९७२ कात्तिक २४ गते जन्मिएका लौहपुरुष सिंहको निधन २०५४ असोज २ गते भएको थियो। नेपाली राजनीतिमा गरेको सिंहको योगदानलाई स्मरण गर्दै हरेक वर्ष उनको जन्मजयन्ती र स्मृति दिवसमा विभिन्न कार्यक्रम गरिन्छ ।