जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ घाइते

डडेल्धुरा, मंसिर १ । डडेल्धुराको भागेश्वर गाउँपालिका–४ कुरङायलमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान भागेश्वरबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म १ ज १८० नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

 

मृत्यु हुनेमा भागेश्वर गाउँपालिका– ३ बोगटाका ४५ वर्षीय गाडीधनी दीपेन्द्र शाही र भागेश्वर गाउँपालिका– २, रुपालका २७ वर्षीय धर्मसिं मडै रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।

 

दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा ल्याइएको छ । जिप सडकभन्दा १०० मिटर तल खसेको जनाइएको छ ।

 

घाइते हुनेहरूमा भागेश्वर गाउँपालिका–३ का ३ वर्षीय एलकस नागरी, ४० वर्षीय रणबहादुर शाही, ११ वर्षीय तनुजा शाही, २२ वर्षीय नवीन शाही, ३२ वर्षीय विष्णु शाही, २३ वर्षीय माया नागरी, बैतडीको मेलौली–८ बस्ने १८ वर्षीय गौरी विष्ट, धनगढी उपमहानगरपालीका १४ कनरीका २६ वर्षीय केशव मल्ल, बैतडी तल्लो सोराड ४ का १२ वर्षीय शुसिल महता, कञ्चनपुर दैजीकी २० वर्षीय सर्मीला, बैतडी शिवनाथका ३० वर्षीय सिद्ध महता, काठमाडौं ज्ञानेश्वर ३० की अशोक कँुवर९थापा०, बैतडी मेलौली ८ बस्ने १८ वर्षीय लक्ष्मी बिष्ट रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये बैतडीको मेलौली–८ की १८ वर्षीय गौरी बिष्टलाई धनगढी रेफर गरिएको छ ।

 

अन्य घाइतेहरूको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । जिपमा क्षमता भन्दा बढी यात्रुहरू र घुलाम्य सडक भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।