पहुँचका आधारमा योजना बन्ने प्रवृत्ति हटाउनुपर्छ : मुख्यमन्त्री भट्ट

 धनगढी, मंसिर २ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पहुँचका आधारमा विकासका योजना छनोट गर्ने प्रवृत्तिले प्रभावकारी कार्यान्वयनमा समस्या उत्पन्न हुने गरेको बताएका छन् ।

 

राष्ट्रिय योजना आयोगको पहलमा आइतबारदेखि धनगढीमा शुरु भएको ‘दिगो विकास लक्ष्य मैत्री योजना, अनुगमन मूल्याङ्कन तथा तथ्याङ्कसम्बन्धी प्रदेशस्तरीय क्षमता विकास’ कार्यक्रममा उनले पहुँचका आधारमा योजना बन्ने प्रवृत्ति हटाउन नसकिए समृद्धि नआउने धारणा व्यक्त गरेका हुन् ।

 

बदलिँदो परिवेशमा जनताको माग र आवश्यकताअनुसारका योजना बनाई प्रभावकारी कार्यान्वयन गर्ने संयन्त्र बनाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्रीले भने, ‘नजिकको नाता र ठूलो मान्छेका आधारमा योजना बन्ने प्रवृत्तिले योजनाको कार्यान्वयनमा समस्या छ ।’ कुन तहका योजनालाई कुन सरकारले अगाडि बढाउने भन्ने विषयमा हाल देखिएको अन्यौलता हटाउन पहल गर्नुपर्ने उनले बताएका छन् ।

 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले आयोगले अहिले दीर्घकालीन सोच बनाउने, पन्ध्रौँ योजना बनाउने, तहगत रुपमा समन्वयका काम गर्ने, तथ्याङ्क प्रणाली बलियो बनाउनेलगायत कामलाई प्राथमिकता दिएको बताएका छन् ।

 

आयोगका सदस्य सुशील भट्टले विकाससम्बन्धी योजनाहरुलाई परिणाममुखी बनाउने गरी आयोगले आवश्यक योजना बनाइरहेको जानकारी दिएका छन् ।

 

कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा, प्रदेशका प्रमुख सचिव नारायणप्रसाद बिडारीलगायतले दिगो विकास मैत्री योजना र तिनको कार्यान्वयनको बारेमा धारण राखेका थिए ।

 

तीनदिने उक्त कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, सहसचिव, प्रदेशसभाका विषयगत समितिका सभापति, सभामुख, उपसभामुख लगायतको सहभागिता रहेको छ ।

रासस