जय नेपाल’ क्रिकेट प्रतियोगितामा ‘लाल सलाम टिम, खेलमा पनि राजनीति

दार्चुला, मंसिर ३ । दार्चुलाको शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वरमा ‘जय नेपाल’ खुल्ला क्रिकेट प्रतियोगिता सञ्चालन भएको छ । अपी चौलानी सृजनशिल युवा क्लवको आयोजनामा पहिलोपटक जय नेपाल खुल्ला क्रिकेट प्रतियोगिता सञ्चालन भएको हो ।

 

कुल १३ टिमले सहभागिता जनाएको सो प्रतियोगितामा ‘लाल सलाम’ क्रिकेट टिमले भाग लिएपछि प्रतियोगिता रोमाञ्चक बनेको छ । आइतबार नेपाल विद्यार्थी संघ र लालसलाम खलंगाबीच भएको क्रिकेट प्रतियोगितामा लालसलाम खलंगाले विजयी शुरुवात गरेको छ ।

 

दुई पार्टीका खेलाडीबीच भएको प्रतियोगिताले राजनीति सरगर्मी तताएको छ । राजनीतिक रुपमा जय नेपाल क्रिकेट प्रतियोगिता सञ्चालन भएको भन्दै प्रतिकार स्वरुप नेकपा नेताहरुको योजनाअनुसार लालसलाम टिम निर्माण गरीएको बुझिएको छ ।

 

प्रतियोगितामा दार्चुलाका ९ तथा बैतडीका चार वटा टिमले सहभागिता जनाएका छन् । दार्चुलाका नेपाली काग्रेसले जितेका व्यास, दुहुँ, मालिकार्जुन गाउँपालिका, महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाको आर्थिक सहयोगमा जय नेपाल क्रिकेट प्रतियोगिता सञ्चालन भएको छ ।

 

जिल्लाकै सर्वाधिक धनराशीमा सञ्चालन भएको प्रतियोगिताको प्रथम टिमलाई नगद एक लाख एक हजार एक सय ११, द्धितीय टिमलाई नगद ६१ हजार एक सय ११ तथा कप मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै हरेक खेलका म्यान अफ द् म्याच पाँच हजार पाँच सय ५५ रुपैयाँ पाउनेछन् ।

 

स्थानीय सरकारको सहयोगमा सञ्चालन भएको खेलमा जय नेपाल क्रिकेट प्रतियोगिता नाम राखिएको भन्दै नेकपा नेताहरुलेसमेत आपत्ति जनाएका छन् । आयोजकले भने खेल राजनीतिक रुपमा सञ्चालन गर्न नखोजेको भन्दै समयसापेक्ष नाम मात्रै राखीएको दाबि गरेको छ ।