मन्त्रालय भन्छ खटाएको ठाउँमा नगएर अटेरी गरे डाक्टर भन्छन् घुस दिन नसकेर राजीनामा दिएँ

काठमाडौं मंसिर ५ – वीर अस्पतालका वरिष्ठ न्युरो सर्जन प्रा.डा. ध्रुवराज अधिकारीले चाकडी र घुस दिन नसक्दा आफ्नो काज सरुवा नभएको आरोप लगाउँदै पदबाट राजीनामा दिनुभएको छ ।

 

उहाँले मंगलबार उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै चाकडी र घुसको रकम पुर्‍याउन नसक्दा राजीनामा दिएको उल्लेख गर्नुभएको हो । उहाँले लेखेको राजीनामा पत्र सामाजिक सञ्जालमा भाइरल नै भएको छ ।

 

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने डाक्टर अधिकारीको आरोपको खण्डन गरेको छ । मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठका अनुसार डा. अधिकारीलाई आठौं तहबाट नवौं तहमा बढुवा गरेर गण्डकी अस्पताल पोखरामा पदस्थापन गरिएको थियो । तर डा. अधिकारी खटाएको ठाउँमा एक दिन पनि हाजिर नभएको उहाँको भनाइ छ ।

 

एक दिन भए पनि सरुवा गरेको कार्यालयमा गएर हाजिर गर्नुहोस्, अनि वीर अस्पतालमै काज सरुवा गरौंला भन्दा समेत डा. अधिकारीले अवज्ञा गरेको मन्त्रालयको भनाइ छ ।