नेकपाको सचिवालय बैठकमा के –के निर्णय भयो !

काठमाडौँ,मंसिर ८। नेपाल कम्युनिष्ट पार्टी ,नेकपा, को सचिवालय बैठकले राजधानीमा विशेष जिल्ला कमिटी बनाउने निर्णय गरेको छ ।

नयाँ बन्ने विशेष जिल्ला कमिटीहरु अबदेखि छुट्टै विशेष प्रदेश कमिटीको हैसियतमा कमिटी गठन गरी त्यसको मातहतमा परिचालन गर्ने निर्णय बैठकले गरेको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न सचिवालय बैठकमा प्रदेश कमिटीको एकीकरण र गठनको पूर्णताका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदनमाथि छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

 

नेकपाका महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापा सदस्य रहेको कार्यदलले बिहीबारको बैठकमा सो प्रस्ताव पेश गर्नुभएको थियो । प्रवक्ता श्रेष्ठले भन्नुभयो, “प्रतिवेदनमाथि छलफल भयो । छलफल र सुझावका आधारमा आवश्यक पुनर्विचार गरी प्रतिवेदनलाई टुङ्गो लगाएको छ । टुङ्गो लागेको प्रतिवेदनलाई सचिवालयका तर्फबाट स्थायी समितिमा प्रस्तुत गर्ने निर्णय भयो ।”

 

प्रवक्ता श्रेष्ठले प्रदेश कमिटीको एकीकरणको विषयलाई टुङ्गो लगाएपछि साङ्गठनिक एकीकरण र कार्यविभाजन हुने जानकारी दिनुभयो । साथै अगामी बैठकमा सरकार, पार्टी र संसद् सञ्चालनसम्बन्धी समीक्षा गरी नयाँ कार्ययोजना बनाउने उहाँले बताउनुभयो । रासस