श्रीमान-श्रीमती सहित १४ जनाको एउटै चिहान अबेरसम्म जलिरह्यो सेती किनार

डोटी मंसिर ८  । रोजगारीका लागि भारतको चेन्नई गएका डोटी शिखर नगरपालिका ११ तल्लीसातका २५ वर्षीय शंकर जोरा तिहारको पर्सिपल्ट मात्र घर फर्किएका थिए । गर्भवती श्रीमती गंगाले प्रसूति हुने समय नजिकै आएको भन्दै उनलाई फोन गरी बोलाएकी थिइन् । श्रीमती गंगा प्रसूतिको समयमा श्रीमान आफूसँगै होउन् भन्ने चाहन्थिन् ।भारतबाट घर आएपछि शंकरले श्रीमतीलाई जचाउन उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगे ।

 

डाक्टरले उनलाई एक हप्तापछि फेरि जचाउन आउन सल्लाह दिए । उनीहरु अस्पतालबाट फर्किए, तर घर कहिल्यै नपुग्ने गरी ।बिहीवार डडेल्धुराको अमरगढी नगरपालिका ११ रडुवामा भएको से १ क २९३ नम्बरको स्कुल बस दुर्घटना हुँदा श्रीमान श्रीमतीको एकै चिहान भयो । पोष्टमार्टम गर्दा डाक्टरले गंगाको पेटबाट मृत बच्चा ९छोरा० निकाले । शुक्रबार शंकर र गंगासँगै शिशुलाई पनि सेती नदीमा सेलाइयो ।

 

रोजगारीका लागि भारत गएका शंकरका बुवा डम्मर जोराको गत वर्ष भारतमै निधन भएको थियो । बुवाको निधनपछि बुढी आमा र नावालक दुई भाइको पालन पोषणको सम्पूर्ण जिम्मेवारी शंकरको काँधमा थियो । उनले त्यो जिम्मेवारी त पूरा गर्न पाएनन् नै नाती नातिनाको मुख हेरेर मर्ने आमाको सपना पनि अधुरै रह्यो ।सोही गाउँका योगेन्द्र वोहरा पनि गर्भवती श्रीमती हरिनालाई जचाउन उपक्षेत्रीय अस्पताल गएका थिए । फर्किदा अरु गाडी नपाएपछि उनी पनि सोही बसमा चढेछन् । उनको पनि ज्यान गयो । दुर्घटना मा परी घाइते भएकी हरिनाले अस्पतालको शैयामा श्रीमानलाई कुर्दै छिन् । उनको खुट्टा भाँचिएको छ ।

 

भारतमै रोजगारी गर्ने योगेन्द्र पनि तिहार मान्न घर आएका थिए ।योगेन्द्रका बुवा पदम बोहरा दमका रोगी छन् । भारतमै जागिर गरेर उनले भाइलाई आवासीय विद्यालयमा पढाउँदै थिए । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण आफू पढ्न नपाएका योगेन्द्र भाइ पढेर ठूलो मान्छे होस् भन्ने चाहन्थे । तर, आफ्नो सपना पूरा गर्न नपाउँदै उनी अनन्त यात्रामा गए । श्रीमती हरिनाको हेरचाहका लागि उनका माइती पक्ष अस्पतालमा छन् ।

डडेल्धुरामा भएको उक्त दुर्घटनाले मृतकका परिवारलाई मात्रै होइन, डोटीको शिखर नगरपालिकालाई नै शोकमा डुबाएको छ । उक्त दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । तिमध्ये शंकर दम्पत्ति र योगेन्द्रसँगै शिखर नगरपालिकाका मात्रै ६ जनाले ज्यान गुमाए । १० जना घाइते छन् ।शिखर नगरपालिका(८ का ४० वर्षीय कैलाश रावल उग्रतारा माईको दर्शन गर्न गएका थिए । उनीसँगै १५ वर्षीया छोरी सोनिया पनि थिइन् । भुपू सैनिक कैलाशले दुर्घटनास्थलै दम तोडे । छोरी सोनिया अस्पतालको शैयामा छट्पटाइरहेकी छिन् । उनी बाबा आउने बाटो हेर्दैछिन् ।सोही गाउँका ४० वर्षीय योगेन्द्र रावलले पनि उक्त घटनामा ज्यान गुमाए । भारतमा काम गर्ने योगेन्द्र तिहार मनाउन घर आएका थिए ।

 

उग्रतारा माताको मेलामा गएका उनले पक्कै पनि आफ्नो र आफ्नो परिवारको सख शान्ति र दीर्घायूको कामना गरेथे होलान् तर उग्रतारा माताले सुनिनन् उनको पुकार । नाबालक लालाबाला छोडेर उनी पनि कहिल्यै नफर्किने गरी गए ।सोही वडाकी २० वर्षीया शारदा राउतले पनि उक्त दुर्घटनामा ज्यान गुमाइन् । शारदा स्थानीय राधाकृष्ण माबि मा कक्षा १२ की छात्रा हुन् । भुपू प्रहरी सहायक निरीक्षक लोगबहादुर राउत छोरी शारदामा धेरै सम्भावनाहरु देख्थे । छोरी पढेर ठूलै मान्छे हुने सपना देख्थे उनले । तर निस्ठुरी बन्यो दैव । उग्रतारा माताले जीवन रक्षा गरुन् भन्दै मेला भर्न गएकी शारदाको जीवन पनि छिट्टै खोसियो ।

 

शिखर नगरपालिका १० का १६ वर्षीय रोहित बलायर र १५ वर्षीय सागर बलायरले पनि उक्त दुर्घटनामा ज्यान गुमाए । रोहित स्थानीय सुनाखरी इंगलिस बोर्डिङ्ग स्कुलका कक्षा ९ का छात्र हुन् भने सागर स्थानीय सिद्धेश्वर मावि कक्षा ८ का ।यस्तै शिखर नगरपालिका ११ का २४ वर्षीय पदम बिकको पनि उक्त घटनामा ज्यान गयो । दिपायलमा रहेको केबी ग्रुपमा मजदुरी गर्ने बिक बिदा लिएर मेला हेर्न गएका थिए । एक दिने बिदामा गएका उनी अव कहिल्यै हाजिर हुने छैनन् ।डडेल्धुरामा भएको उक्त दुर्घटनाले डोटीका १२ जनाको ज्यान लियो । मृतकहरुको शव जलाउनका लागि शुक्रबार अवेरसम्म सेतीको किनार जलिरह्योे । उपक्षेत्रीय अस्पताल डडेल्धुरामा पोष्टमार्टम भएपछि शवहरु दाह संस्कारका लागि ल्याइए ।

 

डोटीका १० र उक्त घटनामा ज्यान गुमाएका डडेल्धुरा नवदुर्गा गाउँपालिकाका चार गरी १४ जना सेती किनारमा जले । सेती किनारमा ६ ठाउँमा शव जलाइए । डडेल्धुरा नवदुर्गाका चक्र धामी, टेक धामी र तिलख खातीको एकै चिहान भयो । यस्तै शंकर र गंगाको पनि एक चिहान बन्यो । अन्य नौ जनाको छुट्टाछुट्टै चिहान बनाई दाहसंस्कार गरियो ।

 

शिखर नगरपालिका १० को गहनानमा सयौंको संख्यामा महिला पुरुषहरुको रुवाबासी चल्यो । एउटै टोलका शंकर, गंगा र योगेन्द्रको शव त्यतैबाट दाहसंस्कारको लागि लगियो । वडा नंं। १० कै बान्डुंग्रीसैनमा सागर र रोहितको घरमा पनि रुवाबासी छ । वडा नं। ११ को गोपघाटमा पनि त्यस्तै रुवाबासी छ, जहाँ पदमको घर छ ।वडा नं। ८ कै तल्लो तिल्ताली र मल्लो तिलतालीमा पनि रुवाबासी चलेको छ । तल्लो तिलतालीका कैलाश र योगेन्द्रले ज्यान गुमाएका छन्, मल्लो तिलतालीकी शारदाले । दिपायल सिलगढी नगर पालिका(४ पिपल्लामा पनि रुवाबासी चलेको छ । ३५ वर्षीया सशी बिक सरस्वतीले उक्त दुर्घटनामा ज्यान गुमाइन् ।शिखर नगरपालिकाले एक शोक वक्तव्य जारी गर्दै दुर्घटनाले सिङ्गो नगरलाई मर्माहित बनाएको जनाएको छ ।

 

नगर प्रमुख सिताराम जोशीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ, ‘अकल्पनीय एवं अत्यन्तै दुःखद् घटनामा परी यस शिखर नगरपालिकाका बिभिन्न वडाका होनहार युवाहरुले ज्यान गुमाउँदा यस नगरपालिकालाई अपुरणीय क्षति भएको छ ।’वक्तव्यमा मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

 

यस्तै साविकको नेकपा एमालेबाट नगर प्रमुखको उम्मेदवार भएका शेरबहादुर मल्लले पनि शोक बिज्ञप्ती जारी गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र आफन्तजनप्रति समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरुको उपचारको सम्पूर्ण जिम्मा सरकारले लिनु पर्ने बताएका छन् ।