सानेपा पार्टी कार्यालयमा नेविसंघको धर्ना


काठमाडौं मंसिर ९। नेपाल विद्यार्थी संघले १२ औँ महाधिवेशनको वातावरण निर्माण गर्न माग गरेको छ । नेविसंघले ११ औँ महाधिवेशन सम्पन्न भएको दुई वर्ष तीन महिना पुग्दासमेत अर्को महाधिवेशनको वातावरण नबनेको भन्दै आइतबार नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा नेतृत्वलाई दवाव दिएको हो ।

पार्टीले नेविसंघसँग छलफल नगरी हचुवाको भरमा दुई महिना म्याद थप गरेर निर्वाचन टार्न खोजेको नेविसङ्घका नेता दीपक भट्टराईले बताए । ‘दुई वर्ष तीन महिनामा हुन नसकेको नेविसंघको १२ औँ महाधिवेशन अब दुई महिनामा हुन्छ भनेर कसरी पत्याउने, नेतृत्वको निर्वाचन नगर्ने खेल हो,’ उनले भने ।

 

नेविसङ्घका नेता हिमालदत्त श्रेष्ठले महाधिवेशन सुनिश्चित गर्नुभन्दा पनि पार्टी नेतृत्वले बहुमतका आधारमा नेविसंघको विधान मिच्ने काम गरेकाले आफूहरू धर्ना बस्नु परेको बताए । नेविसंघको विधानमा निर्वाचन भएको दुई वर्षभित्र अर्को निर्वाचन गरिसक्नुपर्ने अन्यथा विशेष परिस्थितिमा तीन महिना थप्न पाउने व्यवस्था छ । काँग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १ गते बसेको बैठकले नेविसंघको समयावधि दुई महिना थप गरेको छ ।

 

यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुन लागेको काँग्रेस महासमितिको बैठकमा छलफल हुने विधान मस्यौदाबारे छलफल गर्न काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक अहिले पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको छ ।