श्रमिकका लागि पेन्सनसहितको सामाजिक सुरक्षा कार्यक्रम भोलि मंगलवारबाट सुरु गरिंदै

काठमाडौँ,मंसिर १० । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने भोलि मंगलबार मंसिर ११ गतेदेखि लागू गर्दैछ । भोलि प्रधानमन्त्री केपी ओलीले शुभारम्भ गरेपछि यो विधिवत रुपमा लागु हुनेछ ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गरिएको जनाएको छ। यो योजना लागू भएपछि योगदानमा आधारित पेन्सनसमेत लागु हुनेछ।

 

सामाजिक सुरक्षा योजनामा योगदानको लागि रोजगारदाताले श्रमिकको न्यूनतम पारिश्रमिकबाट ११ प्रतिशत कट्टी गरी उक्त रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी ३१ प्रतिशतबराबर कोषमा जम्मा गरिन्छ । सामाजिक सुरक्षा योजना सञ्चालनको लागि आवश्यक पर्ने सबै कानुन तथा कार्य्विधिहरु पूरा र रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुमधुर भई औद्योगिक लगानीको लागि वातावरण बन्नुको साथै श्रमिकको सामाजिक सुरक्षा समेत यसैबाट ग्यारेन्टी भएको बताईए पनि रोगथदारतालाई थप २० प्रतिशत भार थपिने छ ।

 

६ महिना योगदान गर्ने श्रमिकले अर्को ६ महिनासम्म चिकित्सकको परामर्श सेवा, अस्पताल भर्नाबापतको शुल्क, निदान तथा परिक्षण सेवा बापतको खर्च औषधि बिलबमोजिमको खर्च, घरमै बसी उपचार गराउनुपर्ने अवस्थाका बिरामीको डाक्टर घर जाँदा आउँदाको खर्च पाउने सुविधा छ। दुर्घटना भई आवश्यक भएकोमा बाहेक प्लास्टिक सर्जरी तथा दाँतको उपचार खर्च, वारियर्टिक सर्जरी ,वोसो निकाल्ने, बापतको खर्च, महामारी भई कोषले स्वास्थ्य सुविधा निलम्बन गरेको अवस्थामा भने सुविधा पाउने छैन।

 

अस्पताल भर्ना भई उपचार गराउँदा वर्षमा एक लाखसम्म, घरमै बसी उपचार गराउँदा वर्षमा २५ हजार रुपैयाँसम्म सुविधा पाउनेछ। कुल दाबीको २० प्रतिशत मात्रै श्रमिकले तिर्नुपर्छ। बिरामी बिदामा बस्दा १२ दिन बिरामी बिदाबापत पुरै पारिश्रमिक रोजगारदाताबाट पाउने, त्यो भन्दा बढी बिरामी बिदामा बस्नु पर्दा १३ हप्तासम्मका लागि आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम कोषबाट पाउने सुविधा छ।