छोरीको जन्मदिनको खर्च निर्मलाका आमाबुवालाई

काठमाडौं मंसिर १० – नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले निर्मला पन्तको परिवारलाई भेटेका छन् । सोमबार अपरान्ह त्रिवि शिक्षण अस्पताल पुगेर डा.भट्टराईले उनीहरुलाई भेटेका हुन् ।

छोरी निर्मलाको बलात्कारपछि हत्या भएपछि न्याय माग्दै धर्नामा बसेका निर्मलाका बुबाको मानसिक सन्तुलन गुमेपछि उनी अहिले त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । संयोजक भट्टराईले बिरामी यज्ञराज पन्तको स्वास्थ्य अवस्थाबारे बुझेपछि निर्मलाकी आमालाई सम्झाएका थिए ।

उनले आफुहरुको सक्दो सहयोग रहने समेत प्रबिद्धता जनाएका थिए । डा. भट्टराईले अन्य केही समस्या भए पनि आफुहरुले सहयोग गर्ने बचन दिएका छन् । बाबुरामसँगको कुराकानीका क्रममा निर्मलाकी आमाले छोरीको न्याय त राज्यले दिनुनै पर्ने तर छोरीको पीडाकै बीचमा श्रीमानको समेत यो हालत भएको भन्दै गुनासो पोखेकी थिइन् ।

 

 

कञ्चनपुरकी निर्मला पन्तको साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । सो घटनामा संलग्न अपराधी अहिलेसम्म पत्ता लाग्न सकेको छैन् । सरकारले घटनाबारे थप अनुसन्धान जारी रहेको बताउँदै आएको छ । भेटमा डा.भट्टराईले नयाँ शक्ति समर्थक प्रवासी नेपालीहरुले जुटाएको १ लाख रुपैयाँ समेत पीडित परिवारलाई बुझाएका थिए ।

गोरखाको भीमसेन गाउँपालिका १ मसेलका अनिल पाण्डे र उनकी श्रीमती सविता पाण्ड‍े (भट्टराई)ले छोरीको जन्मदिन मनाउने खर्च कटाएर निर्मलाका आमाबुवालाई सहयोग गरेका छन्।

अहिले अस्ट्रेलियाको क्यानभारासिटीमा बस्दै आएका पाण्डे परिवारले पठाएको एक लाख रुपैयाँ नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सोमबार शिक्षण अस्पताल पुगेर निर्मलाकी आमा दुर्गादेवी पन्तलाई हस्तान्तरण गरेका हुन्। छोरीको बलात्कारपछि हत्या गर्नेलाई कारबाहीको माग गर्दै धर्नामा बसेका निर्मलाका बुवा यज्ञराज बिरामी भएपछि शिक्षण अस्पतालमा उपचार भइराखेको छ।