जीपका सिट र छत हटाउँदै प्रहरी दुर्घटना बढ्न थालेपछि

बाजुरा, मंसिर १० । बाजुरामा सवारी साधान दुर्घटनाका क्रम बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय बाजुराले ग्रामिण क्षेत्रमा संचालन भइरहेका साना गाडीमा क्षमता भन्दा बढी भएका जीपका सिटहरु हटाउन थालेको छ ।

 

जिल्लाका अधिकांस ग्रामिण भेगमा कच्ची सडक हुँदाहुँदै पनि व्यवसायीहरुले मनोमानी तरिकाले यात्रुहरु बोकेर आवत जावत गराउने गरेको पाइएपछि जीपमा क्षमताभन्दा वढी भएका गाडीका सिटहरु हटाउन थालिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरिक्षक उद्धवसिंह भाटले बताएका छन् ।

 

उनले साना सवारी साधानमा मात्र नभई ठुला गाडीहरुमा पनि क्षमता भन्दा बढी यात्रु बोक्न नदिने बताएका छन् । अहिले जिल्लामा संचालन भईरहेका साना तथा ठुला सवारी साधानहरु दुर्घटना हुन नदिन दैनिक चेकजाँचमा समेत कडाइ गरिएको छ ।

 

यसै क्रममा जिल्ला प्रहरी कार्यालय बाजुराले ४ दिनको अवधिमा जिल्लामा संचालनमा रहेका पाँच सिट पास भएका २४ वटा बोलेरो जीपका क्षमता भन्दा बढी भएका सिट र छत हटाइएको र क्रमस जिल्लामा भित्रिने र संचालनमा भएको सबै जीपका सिटहरु हटाइने प्रहरी प्रमुख भाटले बताएका छन् ।

 

जिल्ला भित्र संचालनमा रहेका जीपहरुले सदरमुकाम मार्तडीबाट ग्रामिण सडक कोल्टी, घटमुना, डोगडी, बाम्का, बेतालमाण्डौ, त्रिबेणी लगायतका ठाउँमा यात्रुहरुलाई बोक्ने गरेका छन् । साना सवारी साधानमा पाच सिट पास भएको भएपनि बाजुराका ग्रामिण क्षेत्रमा संचालन हुने जिपहरुले गाडीको क्षमता भन्दा वढी यात्रु वोक्ने गरेका थिए ।

 

यता जीप व्यवसायीहरु प्रहरीले एक्कासी जीपमा भएका सिट र जीप माथिको छत हटाएपछि आक्रोसित भएका छन् । जीपका सिटहरु हटाएपछि जीप व्यवसायी दिनेश रोकायाले आफूहरुले गाडीमा लगाएको लगानी कसरी उठाउने भन्ने चिन्ता बढेको बताए । बाजुरामा मात्र ५ सिट पास पास भएका झण्डै ६० देखि ७० र १० सीट पास भएका १० बढी जीपहरु संचालनमा रहेका छन् ।