सरकार श्रमजीवी जनताको पक्षमा काम गर्न व्यस्त : प्रधानमन्त्री ओली


काठमाडौं मंसिर ११। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार श्रमजीवी जनताको पक्षमा काम गर्न व्यस्त भएको दावी गरेका छन् । मंगलबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित सामाजिक सुरक्षा आयोजना सुभारम्भ समारोहमा सरकारमाथिको आलोचनाको खण्डन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म सरकार नदेख्नेहरुले अब चारैतिर सरकार देख्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले सरकारका काम कारबाहीबारे मजदूर, श्रमजीवी वर्ग र उत्पीडित वर्गलाई सोध्न समेत आग्रह गरे । ‘सरकारले काम गर्न सकेन सिन्कासम्म पनि भाँचेन भन्ने सुनिन्छ’, सरकारका आलोचकहरुमाथि कडा रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार जुम्रा मार्न र सिन्का भाँच्नका लागि बनेको होइन् देश बनाउनका लागि हो, सरकारले आफ्नो काम गर्दैछ ।’

 

सरकार कतै नदेखिएको र सरकारको उपीसथति शून्य रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अलोचनाको जवाफ समेत दिएका छन् । सरकारलाई हेर्न चस्मा लगाउनु नपर्ने उनले दावी गरे । ‘अब काठमाडौंका सडक धोइन्छ, धुलो सफा गरिन्छ अनि देख्नुहुन्छ सरकार’, उनले भने, ‘ त्यसपछि जता फर्कियो त्यतै सरकार देख्न थालेपछि आफै चुप हुनुहुन्छ ।’

 

प्रधानमन्त्री ओलीले सरकारको सामान्य भन्दा सामान्य कुरामा पनि बढी आलोचना हुने गरेको बताए । सरकारले जनताका पक्षमा कम गर्दा पनि नदेख्नेहरुले पोलमा झुण्डाइएको फ्लेक्स भने देखेको बताए । आलोचकहरुलाई देखाउनकै लागि सामाजिक सुरक्षाको कार्यक्रम तामझाम गरिएको उनको दावी थियो ।‘एउटा कार्यक्रमको घोषणा गर्दा पनि यस्तो तामझाम किन भन्ने प्रश्न पनि उठ्यो’, उनले भने, ‘ यो तामझाम देखिनँ, थाहा पाइनँ भन्नेलाई देखाउन र सुनिनँ भन्नेहरुलाई सुनाउनका लागि हो ।’