कांग्रेसको संशोधित विधान मस्यौदाः उमेद्वारबारे महिना दिन अघि नै निर्णय गरिसक्नुपर्ने

काठमाडौं, मंसिर १३ । नेपाली कांग्रेसको संशोधित विधान मस्यौदामा निर्वाचनको बेला मनोनयन गर्नु एकमहिना अघि नै उमेद्वारबारे निर्णय गरिसक्नु पर्ने प्रस्ताव गरिएको छ । यसअघि काग्रेसको उमेद्वारी दर्ता गर्ने केही घण्टा अघिसम्म उमेद्वारबारे निर्णय गरि मनोनयन गरिन्थ्यो ।

 

काग्रेसको संशोधित विधान मस्यौदामा संघीय संसद, प्रदेशसभा स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट उमेद्वार चयन गर्न केन्द्रिय संसदिय समिति, प्रदेश संसदिय समिति, जिल्ला संसदिय समिति र प्रतिनिधिसभा क्षेत्र संसदिय समिति गठन गर्ने प्रस्ताव गरिएको छ ।

 

सबै तहका संसदिय समितिले उमेद्वारी सम्बन्धमा गरेको निर्णय सम्बन्धित तहको पार्टीको कार्यसमितिबाट पारित गराउनुपर्ने प्रस्ताव छ । उक्त मस्यौदामा उमेदवारीबारे व्यवस्थामा कुनै पनि तहको प्रत्यक्षतर्फको उमेद्वार मनोनयन दर्ता हुने मिति भन्दा एक महिना पुर्वनै अन्तिम निर्णय गरिसक्नुपर्ने उल्लेख छ । साथै त्यसमा समानुपातिकको आरक्षणको सुचिमा परि एकपटक निर्वाचित भैसकेको व्यक्ति लगातार पुनः सुचिमा नराखिने प्रस्ताव गरिएको छ ।

 

आज विहिवार बाट केन्द्रिय समितिमा छलफल हुने उक्त मस्यौदामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा समानुपातिकतर्फको निर्णय गर्दा कुनै पनि निर्वाचन क्षेत्रबाट एकभन्दा बढी उमेद्वार दिइने छैन भनी उल्लेख गरिएको छ ।

 

निर्वाचनको बेला टिकट वितरणमा धेरै विवादमा आइरहने काग्रेसले संशोधन गर्न लागेको विधानमा पार्टीको तर्फबाट उमेद्वार छनौट गर्ने व्यवस्थालाई थप परिमार्जित गरेको हो । प्रतिनिधिसभा सदस्यको लागि प्रतिनिधिसभा क्षेत्रिय अधिवेशनका प्रतिनिधिले प्रत्यक्षतर्फ बढीमा तीन र समानुपातिकतर्फका लागि एक महिलासहित बढीमा दुईजना जनाको नाम जिल्ला कार्यसमितिमा पठाउनुपर्नेछ । प्रतिनिधिसभा क्षेत्रिय अधिवेशनका प्रतिनिधिले उमेद्वारको नाम सिफारिस गर्दा सकेसम्म सर्वसम्मत, त्यसो हुन नसके निर्वाचन गराएर मतसहित जिल्ला कार्य समितिमा सिफारिस गर्नुपर्नेछ । नेपाल समाचारपत्रबाट