खुला सिमानाका कारण नागरिकताकाे विषयमा संवेदनशील भएर निर्णयमा पुग्न सुझाव

काठमाडौँ, मङ्सिर १३ । छिमेकी मुलुकसँगको खुला सिमाना भएका कारण नागरिकताका विषयमा संवेदनशील भएर निर्णयमा पुग्न सुझाव दिइएको छ ।

 

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको  बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँँदै सांसदले नेपाली नागरिकलाई सहज रुपमा नागरिकताको प्रमाणपत्र उपलब्ध गराउने तथा गैर नेपालीले कुनै पनि हालतमा नागरिकता प्राप्त गर्न नसक्ने प्रावधान राखिनुपर्ने सुझाव दिएका हुन् ।

 

नेपालको संविधानको भावनानुसार वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुका नामबाट लैङ्गिक पहिचानसहितको नेपालको नागरिकताको प्रमाणपत्र सहज रुपमा प्राप्त गर्ने व्यवस्था कडाइका साथ लागू हुने प्रावधान विधेयकमा राख्न पनि सदस्यले सल्लाह दिनुभयो ।

 

बैठकमा केही सदस्यले यसअघिको नागरिकता प्रणाली विभेदकारी रहेकाले व्यापक सुधारको खाँचो औँल्याउँदै यसअघि नागरिकताको प्रमाणपत्र वितरणमा भएको कमजोरी नदोहो¥याउने खाले प्रावधान किटानीका साथ समावेश गर्न सुझाव दिनुभयो ।

 

छोरी र बुहारीबीच नागरिकता लिने विषयमा विभेद नगर्न सुझाव दिँदै सदस्यले बस र सिनेमाको टिकट किनेजस्तै नागरिकताको प्रमाणपत्र लिन पाउने व्यवस्था गरिनुहुन्न भन्नुभयो । रासस