दाइजो नदिएको निहुँमा हत्या

जितपुर, मङ्सिर १४ । कपिलवस्तु गजेहडाकी एक युवती भारतमा मृतावस्थामा भेटिएपछि नेपालमा रहेका माइती पक्षले परिवारले हत्या गरेको बताएका छन् ।

 

बाणगङ्गा नगरपालिका–४ की २१ वर्षीय खेमकला सुनार भारतको हरियाना हिसार भन्ने ठाउँमा मृत फेला परेसँगै उनका माइतीले हत्या गरिएको दाबी गरेका हुन् । डेढ वर्षअगाडि हिसार भन्ने ठाउँमा विवाह भएको खेमकलाको यही मङ्सिर १२ गते आफ्नै घरमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । शव फेला परेसँगै माइती पक्षले परिवारले मानसिक, शारीरिक यातना दिई हत्या गरेर झुण्ड्याइएको हुनसक्ने पत्रकारसँगको कराकानीका क्रममा जानकारी दिएको छ ।

 

मृतकका श्रीमान् भारतीय आर्मीमा कार्यरत रहेको बताइएको छ । दाइजो नल्याएको निहुँमा पटकपटक मानसिक यातना दिँदै आएको आरोप माइती पक्षको छ । घटनाका विषयमा बुझ्नका लागि माइती पक्षबाट बुबा र आमा भारततर्फ गएका जनाइएको छ । आफ्नो बहिनीको दाइजोकै नाममा हत्या भएकाले हत्यारालाई कारवाही गर्नुपर्ने मृतककी दिदी दीपा बिकले बताउनुभयो । रासस