सुन तस्करी प्रकरण : डिएसपी राउतको फाइल झिकाउने आदेश

काठमाडौँ, मङ्सिर १४ । सर्वोच्च अदालतले सुन तस्करी प्रकरणमा प्रहरी नायब उपरीक्षक सञ्जयकुमार राउतसम्बन्धी घटनास्थलको मुचुल्का र गृहमन्त्रालय अन्तर्गत फाइल झिकाउने आदेश जारी गरेको छ ।

 

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज घटनास्थलको मुचुल्का र गृहमन्त्रालयअन्तर्गत बनेको अध्ययन समितिको फाइल मगाउने आदेश जारी गरेको हो । जिल्ला अदालत र उच्च अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेपछि राउतले गत कात्तिक १२ गते सर्वोच्चमा निवेदन दिनुभएको थियो । डेढ महीना लामो अनुसन्धानपछि गत वैशाख २६ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले बहालवाला प्रहरी अधिकृतसहित २९ जनालाई पक्राउ गरी आरोपपत्रसँगै अदालतमा पेस गरेको थियो ।

 

आरोपितविरुद्ध सङ्गठित अपराधअन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी९पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो । मिलेमतोमा सुन तस्करी गर्ने चूडामणि उप्रेती ‘गोरे’ समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गरी राज्यलाई रु १७ अर्ब एक करोड ८० लाख नोक्सान पु¥याएको अभियोगपत्रमा उल्लेख छ । रासस