जीपधनी यात्रुबाट दोब्बर भाडा लिँदै अवैध सिट हटाएपछि

बैतडी, मंसिर १७ । बैतडी जिल्लामा सञ्चालित जिपमा थपिएका अवैध सिटहरु ट्राफिक प्रहरीले हटाएसंगै यात्रुलाई सास्ती भएको छ । ट्राफिक प्रहरीले बोलेरो जीपको पछाडीको सिट हटाएसंगै यात्रुहरु दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य भएका छन् ।

 

सवारीसाधन संञ्चालकहरुले नियमविपरीत जिपका पछाडी सिट थपेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लामा चल्ने ८० भन्दा बढी जिपहरुको पछाडीका सिटहरु हटाएका हो ।

 

यसअघि बोलेरो जिपहरुले १५ जना सम्म यात्रु बोक्ने गरेका थिए । तर अहिले प्रहरीले पछाडीका जिपका सिटहरु हटाउदा ५ जना यात्रु मात्र बोक्नुपर्ने बाध्यता सवारीचालकहरुलाई भएको छ ।

 

एउटा जिपमा ५ जना मात्र यात्रु बोक्नुपर्ने भएकोले आजभोली आवतजावत गर्नको लागि सवारीसाधन पाउनै मुस्किल भएको दशरथचन्द नगरपालिका ४ का चन्द्र प्रकास लोहियाको भनाइ छ । कहि कतै जान परे गाडी कुर्दा— कुर्दा थाक्नु पर्ने अवस्था आएपनी सवारीसाधन नपाइने गरेका उनको गुनासो छ ।

 

मुख्य ठाउँबाट सवारीसाधन प्याक भएर आउने गरेकोले अन्य ठाउँमा चालकहरुले जिपहरु नरोक्ने भएकोले निकै समस्या भएको दोगडाकेदारका गणेश विष्टको भनाइ छ । सवारीसाधान नपाईएकै कारणले घण्टौं हिँड्नु पर्ने समस्या भएको सुर्नया ३ कि पवित्रा भट्टले बताइन् । पाइएका सवारीसाधनले पनि चर्को भाडा लिने गरेका उनी बताउँछिन् ।

 

बैतडीका राजमार्ग तथा ग्रामिण क्षेत्रका १ दर्जन बढी सडकहरुमा बोलेरो जिप सञ्चालनमा रहेका छन् । गोकुलेश्वरदेखि गन्नासम्मको भाडा १ सय भाडा भएपनि आजभोिल जिप संञ्चालकहरुले यात्रुहरुबाट २५० सम्म लिने गरेका स्थानीय गंगासागर जोशीको गुनासो छ । सिमीत मात्रामा चल्ने जिपहरुले गर्दा यात्रुहरु महंगो भाडा तिरेर पनि यात्रा गर्न बाध्य भएका जोशीले जानकारी दिए ।

 

जिप सञ्चालकहरुले बढी भाडा लिएको भन्ने सुन्नमा आएको बैतडीका प्रमुख जिल्ला अधिकारीले चन्द्रप्रसाद गैरेको भनाइ छ । ‘बढी भाडा लिएको भनेर कोही आएको छैन् ।’ उनले भने–‘प्रमाणसहित कोही आएमा कारबाही गर्छौँ ।’

 

सम्भावित दुर्घटनालाई कम गर्न पछि थप गरिएका सीट हटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलले जानकारी दिए । दुर्घटनामा कमि ल्याउने उद्देश्यले आफूहरुले यो अभियान थालेको उनको भनाइ छ । ५ सिटे जीपमा १४ जनासम्म यात्रु संगै सामानहरु बोक्दा दुर्घटनाका घट्नाहरु धेरै हुने गरेका प्रह्रीको भनाइ छ ।

 

५ सिटको लागी पास भएका जीपहरु दुर्घटनामा पर्दा पछाडीको यात्रुहरुले क्षतीपुर्ती पनि नपाउने भएकोले नागरिकको सहजताको लागी जीपको पछाडीको सिटहरु हटाउन सुरु गरीएको प्रहरीले जनाएको छ ।

 

पहिले यस्ता जिपहरु दुर्घटनामा पर्दा यातायात कम्पनीले क्षतीपुर्ती दिने व्यवस्था भयपनी सरकारले यातायातमा सिन्डीकेट हटाएपछी यात्रुहरुले क्षतीपुर्ती पाउन सकेका छैनन् । सरकारले पास भएका सिटका यात्रुहरु दुर्घटनामा पर्दा मात्र क्षतीपुर्ती दिने गर्दछ ।

 

यता यातायात व्यवसायीले भने १४ जना यात्रुहरु बोक्ने जीपमा ५ जना यात्रु मात्र बोक्न पाउने भएपछी व्यवसाय गर्न कठिन हुने बताउदै आएका छन् । जीपको पछाडीका सिटहरु हटाउदा कम यात्रु बोक्नुपर्ने र कम यात्रु बोक्दा तेलको पैसा सम्म नपुग्ने भएकोले आफुहरु बढी भाडा लिने गरेको यातायात व्यवसायीहरुको भनाई रहेको छ ।