गोविन्द गौतम शहीद भएको नेपाल–भारत सिमाना नजिक सधैँ किचलो

भीमदत्तनगर, मंसिर २१ । नेपाल–भारत सिमाना नजिक आफ्नै भूमिमा कल्र्भट निर्माणको विषयलाई लिएर डेढ वर्षअघि कञ्चनपुरको पुनर्वास नगरपालिकाका गोविन्द गौतमले ज्यान गुमाउनु पर्‍यो । पुनर्वास नगरपालिकाको आनन्द बजार नाका अझै सञ्चालनमा आउन सकेको छैन ।

 

नेपाल–भारत संयुक्त सर्वे टिमले विवाद समाधान गरी कल्भर्ट विवादको समाधान खोजिने बताए पनि अहिलेसम्म त्यसको टुङ्गो लाग्न सकेको छैन । घटनाको झण्डै वर्षदिनपछि स्थानीयवासी र सीमापारीका भारतीय नागरिक कल्भर्ट छलेर सीमामा ओहोरदोहोर गरिरहेका छन् ।

 

उक्त सीमा नाका सञ्चालन गर्न विभिन्न ठाउँबाट गरिए पनि अझै खुल्न सकेको छैन । भारतीय सुरक्षाकर्मीको गोली लागेर शहादत प्राप्त गरेका गौतमको विषयमा भारत अझै केही बोलेको छैन । भारतीय सुरक्षाकर्मीकै गोली लागि गौतमको मृत्यु भए पनि भारतले उक्त घटनामा आफ्नो संलग्नता स्विकारेको छैन ।

 

आनन्द बजारको कल्भर्ट निर्माण क्षेत्र भारतले आफ्नो भएको दाबी गर्दै आएको छ । पुनर्वास नगरपालिका–९ बीचफाटामा गत वैशाखमा भारतीय सीमा सुरक्षा बल (एसएसबी )ले तारजाली हाल्दा अवरोध पुर्‍यायो । बीचफाटाका स्थानीयवासीले उक्त विद्युतीय तारजाली भारतीय जङ्गलबाट आउने वन्यजन्तु रोक्न लगाएका थिए । उक्त विषयमा विवाद हुँदा केही दिन तनाव भयो । विवाद अघि सहमतिमै भारतीय दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावर नियन्त्रण गर्न बीचफाटामा दुई हजार ९०० मिटर क्षेत्रमा तार जडान गरिएको थियो ।

 

“तारजाली सहमतिमै जडान गरिएको थियो”, पुनर्वासका स्थानीय पत्रकार दीपेन्द्र बस्नेतले भने । सोही क्षेत्रमा रहेको प्यारातालको विषय पनि लामो समयदेखि विवादित छ । पुनर्वास नगरपालिकाको बीचफाटामा विवाद गरेको चार महीनापछि भारतले भीमदत्तनगरपालिका–९ ब्रह्मदेवमा एकलौटीरुपमा नेपाल–भारत सीमाक्षेत्रमा पक्की सडक निर्माण अघि बढायो ।

 

यहाँको मुख्य सीमास्तम्भ नं ३ छेउछाउमा करीब १३ सय मिटर वर (नेपालतर्फ) भारतले ठेक्कामार्फत सडक निर्माण थालेपछि ब्रह्मदेवका स्थानीयवासीले अवरोध पुर्‍याएका थिए । जिल्लास्तरबाट उक्त क्षेत्रको सीमा विवाद समाधान भएपछि काम अघि बढाउने मौखिक सहमतिपछि भारतले उक्त निर्माण रोकेको छ । ब्रह्मदेव क्षेत्रमा पनि लामो समयदेखि दुई देशबीच सीमा विवाद यथावत छ ।

 

सीमा विवाद सधैँ भइरहने ब्रह्मदेवका स्थानीयवासी बताउँछन् । मङ्गलबार भीमदत्तनगरपालिकाको गड्डाचौकी, जिमुवा हुँदै ब्रह्मदेव जोड्ने सडक निर्माणमा भारतीय सुरक्षाकर्मीले अवरोध पुर्‍याएका छन् । भीमदत्तनगरपालिकाले सडक बनाउन पठाएको जेसिभी भारतीय एसएसबीले दशगजा क्षेत्रमा सडक बनाउन लागेको दाबी गर्दै नेपाली पक्षलाई अवरोध पुर्‍याएका थिए । स्थानीयवासीका अनुसार उक्त जग्गा नेपाली भूमिमै पर्छ ।

 

सशस्त्र प्रहरी बल ३५ नं गण हेडक्वाटरका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जिमुवा सडक निर्माणमा भएको अवरोधका विषयमा स्थानीय प्रशासनमा छलफल भइरहेको बताए । “हामीले एसएसबीसित उक्त विषयमा समन्वय गरिरहेका छौँ”, उनले भने, “छलफल सकिएपछि भारतीय पक्षसित पनि थप समन्वय हुन्छ ।” उनले नेपाली भूमिमा सडक निर्माण हुँदा भारतीय पक्षले अवरोध गर्न नमिल्ने बताए ।

 

सीमाबारे जानकार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका मानसिंह भण्डारीले भारतीय पक्षको हेपाहा प्रवृत्ति बेलाबखत देखिने गरेको बताए । “यहाँ धेरै ठाउँमा विवाद यथावत छ,” उनले भने, “प्यारातालदेखि, सडकघाट हँुदै ब्रह्मदेवसम्म विवाद नै छ ।” नेपाल–भारत सीमा स्तम्भ सर्वेक्षण, मर्मत सम्भार, नयाँ सीमा स्तम्भ निर्माण तथा पुनःनिर्माणको जिम्मेवारी पाएको प्राविधिकसहितको संयुक्त टोलीले संयुक्त बैठकपछि निर्णय गर्र्दै फिल्डमा काम गर्ने तयारी गरेको छ ।

 

टोलीले अघिल्लो आर्थिक वर्षमा केही स्थानमा सीमा स्तम्भ जीर्णोद्धारलगायत सर्वेको काम गरेको थियो । संयुक्त टोलीमा रहेका प्रमुख नापी अधिकृत जनकराज भट्टले केही दिनभित्रै संयुक्त टिमको बैठक बसेर काम थालिने बताए । उनले बैठक भारतमा बस्ने सहमति भएको र फिल्ड सर्वे टिम हाल धनगढीमा रहेको जानकारी दिए । “हामीलाई कञ्चनपुर र कैलालीको सीमा क्षेत्रको कामको जिम्मेवारी दिइएको छ”, उनले भने, “नेपाल–भारत दुवैको सहमतिमा यहाँका सीमा स्तम्भ निर्माण तथा पुनःनिर्माण थालेका छौँ ।”रासस