छोरीको हत्या आरोपमा आमा पक्राउ

धनुषा, मंसिर २१ । छोरीको हत्या गरेको आरोपमा प्रहरीले जनकपुरबाट एक महिलालाई पक्राउ गरेको छ। जनकपुर उपमहानगरपालिका– २४ सोनापाडा बस्ने ४८ वर्षीया राजकुमारी मण्डल छोरीको हत्याको आरोपमा पक्राउ परेकी हुन्।

 

आफ्नो १६ वर्षीया छोरी सोनीकुमारी मण्डलको हत्या गरेको आरोपमा पक्राउ गरी उनलाई आज जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो।

 

सोनीले आफूले मन पराएको केटासँग बिहे गर्न खोजेको कुरामा विवाद बढेपछि राजकुमारीले रिसमा छोरीको घाँटी थिची हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए। घटनामा परिवारका अन्य सदस्यको समेत संलग्नता हुनसक्ने भएकाले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको थपलियाले बताए।रासस