ड्रोन उडाउने दुई विदेशी नागरिक पक्राउ

डोटी, मंसिर २१ । ड्रोन उडाउदै गरेको अवस्थामा डोटीमा दुई विदेशी नागरिक पक्राउ परेका छन ।

 

डोटीको दिपायल सिलगढी नगरपालिका ६ सिलगढीबाट आकाशमा ड्रोन उडाइरहेका बेला जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी इन्स्पेक्टर नृपबहादुर बोहराले जानकारी दिए ।

 

पक्राउ पर्नेमा एक महिला र एक पुरुष रहेका छन । उनीहरुको नाम खुलाइएको छैन ।

 

श्रोतका अनुसार अन्तराष्ट्रिय गैर सरकारी संस्था एक्सन एडको कार्य क्षेत्रमा भए गरेका क्रियाकलापको डकुमेन्ट्री बनाउन डोटी पुगेको बताइएको छ। उनिहरुले ड्रोन क्यामेराबाट विभिन्न फोटो र भिडियो लिन लागेको बताइएको छ ।

 

प्राप्त जानकारी अनुसार उनिहरु डेनमार्कका पत्रकार रहेको बुझिएको छ । उनीहरुका बारेमा विस्तृत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । एक्सन एडले डोटीमा सम विकास केन्द्र नेपालसङ्ग साझेदारी गरेर कार्यक्रम सन्चालन गरिरहेको छ ।