निर्मला हत्याकाण्ड : प्रदीप रावल र विशाल चौधरी निर्दोष भएका प्रमाण सार्वजनिक

महेन्द्रनगर । निर्मला हत्याकाण्डमा नेपाल प्रहरीले फेरि पनि जालझेल र तिकडम गर्न लागेको पाइएको छ । यसपटक भने प्रहरीको केन्द्रीय नेतृत्वले नै नक्कली ९प्रायोजित० अभियुक्त खडा गरेर हत्याकाण्डलाई किनारा गर्ने कोसिस गरेको छ । पक्राउ परेका दुई किशोरले हत्याकाण्डमा संलग्नता स्वीकारिसकेका भन्दै प्रहरीले केही सञ्चारमाध्यममा जानकारी चुहाएको छ । काठमाडौंबाट प्रकाशित हुने एक अखबार केही अनलनइनले १७ वर्षीय प्रदीप रावल र १४ वर्षीय विशाल चौधरीको डीएनए परीक्षण भइरहेको बताएका छन् । दुबैजनालाई केही दिनमैं निर्मलाको बलात्कारपछि हत्या गरेको अभियोगसहित सार्वजनिक गरिने समाचार प्रहरीले चुहाएको छ ।

 

प्रहरीले विभिन्न च्यानल प्रयोग गरी प्रदीपको डीएनए मिलिसकेको र एकदुई दिनमैं दुबैजनालाई सार्वजनिक गर्ने हल्ला पनि फिजाइरहेको छ । आश्यर्च त के भने उनीहरुको डीएनए परीक्षण एक साताभन्दा कम समयमैं हुने शैलीमा प्रहरीले अनाधिकारिक च्यानलबाट प्रचार गरिरहेको छ । एसपी विष्ट, आयुस र किरणको डीएनए जाँच हुने बेला उपलब्ध प्रविधिअनुसार डीएनए परीक्षण गर्न नेपालमा कम्तीमा १२ दिन लाग्ने बताइएको थियो ।

 

तर, प्रदीप र विशालको हत्याकाण्डमा संलग्नता रहेको प्रहरीको दावी गलत प्रमाणित हुने पूरापूर सम्भावना देखिएको छ । निर्मलाको बलात्कार भएको १० साउन बिहान करिब १० बजेपछि प्रदीप वडा प्रहरी कार्यालयको नियन्त्रणमा रहेका पाइएको छ । विशाललाई पनि प्रहरीले सोही दिन अपरान्ह ४ बजे उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । दुबैजनामाथि कुखुरा चोरेको आरोप लागेको थियो । पोष्टमार्टम रिपोर्टअनुसार निर्मलाको हत्या त्यस दिन दिउँसो करिब ३ बजेपछि भएको थियो ।

प्रहरी नियन्त्रणबाट प्रदीप १२ साउन र विशाल ११ साउनमा छुटेका थिए । ।

प्रहरीको औपचारिक स्तरबाट प्रदीप र विशालका बारेमा कुनै जानकारी प्रवाह गरिएको छैन । काठमाडौंबाट प्रकाशित समाचारप्रति पनि प्रहरीले कुनै प्रतिक्रिया गरेको छैन । यसबाट प्रकाशित समाचारमा प्रहरी सहमत भएको बुझिन्छ । नयाँपत्रिका दैनिकमा प्रकाशित समाचारका अनुसार प्रहरीको केन्द्रीय नेतृत्वसमेत फर्जी अभियुक्त तयार गरी वास्तविक अपराधी लुकाउन चाहन्छ भन्ने दावी गर्न सकिन्छ ।

के लेख्यो नयाँपत्रिकाले 

नेकपा अध्यक्ष प्रचण्डनिकट मानिने नयाँपत्रिकाले विगत केही दिनयता निर्मला हत्याकाण्डमा भगतपुरका १७ वर्षीय प्रदीप गिरी, सालघारीका १४ वर्षीय विशाल चौधरी र सालघारीकै दिनेश चौधरीलाई प्रहरीले पक्राउ गरेको, प्रदीप र विशालले अपराध स्वीकार गरेको तथा उनीहरुको डीएनए परीक्षण हुँदै गरेको समाचार प्रकाशन गरिरहेको छ ।

 

प्रहरी स्रोतलाई उधृत गर्दै सो पत्रिकाले प्रदीपले निर्मलाकाको मुखमा कपडा कोचेर हत्या गरेको स्वीकारेका समाचार प्रकाशन गरेको छ । जबकी पोष्टमार्टम रिपोर्टमा निर्मलाको कण्ठनली भाँचेर हत्या गरिएको उल्लेख छ । पत्रिकाले प्रदीप र निर्मला छिमेकी भएको पनि उल्लेख गरेको छ । प्रदीपलाई काठमाडौंको सुन्धाराबाट पक्राउ गरिएको प्रहरी स्रोतको हवाला दिंदै नयाँपत्रिकाले समाचार लेखेको छ । नयाँपत्रिकाले नै प्रदीपले विशाल र दिनेशको संलग्नता रहेको बयान दिएपछि बिहीबार दुबैजनालाई पक्राउ गरी काठामाडौं लगिएको उल्लेख गरेको छ । प्रहरी स्रोत भन्दै त्यो पत्रिकाले निर्मलाको हत्या भएकै दिन १० साउनपछि प्रदीप भारततर्फ गएको र अचानक काठमाडौंमा देखिएपछि पक्राउ गरिएको बताएको छ । विशालले अपराध स्वीकार गरेको तर दिनेश निर्दोष रहेको भन्ने प्रहरी कथन पनि शनिबारको नयाँपत्रिकाले लेखेको छ ।

नयाँपत्रिकाले स्रोत उल्लेख गरि लेखेका समाचारबारे प्रहरीले कुनै प्रतिक्रिया दिएको छैन । यसबाट ती समाचारप्रति प्रहरीको समर्थन रहेको देखिन्छ । तर, त्यसपत्रिकाले लेखेका करिब आधादर्जन तथ्य गलत रहेको पाइएको छ । प्रहरीले विशाल र प्रदीपलाई पक्राउ गर्नुसमेत आश्चर्यजनक देखिन्छ । उनीहरुलाई सुविचारित योजनाअनुसार पक्राउ गरिएको केही तथ्य पनि खुलेका छन् ।

भुलक्कड प्रहरी 

दिलीप विष्ट गिरफ्तारी प्रकरणबाट पनि प्रहरीले कुनै पाठ नसिकेको आभाष पाइएको छ । प्रदीप र विशालको सन्दर्भमा पनि प्रहरीले केही महत्वपूर्ण पक्षको अनुसन्धान नगरेको संकेत प्राप्त भएको छ ।

 

निर्मलाको बलात्कार र हत्या भएको दिन १० साउनमा प्रदीप बिहान करिब १० बजेपछि वडा प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा थिए भने विशाललाई प्रहरीले बेलुका ४ बजे घरबाटै नियन्त्रणमा लिएको थियो । उनीहरुमाथि भगतपुरचोक नजिकको एक कुखुरा मासु पसलबाट कुखुरा चोरेको आरोप लागेको थियो ।

 

९ साउनमा प्रदीपले आफ्नो पसलबाट कुखुरा चोरेको पसलधनी पाले चौधरीले वडाप्रहरीमा उजुरी गरेका थिए । १० साउन बिहान करिब ९ बजे वडाको गस्तीभ्यान पालेको पसलमा पुग्दा प्रदीप त्यहीं थिए । आफूले प्रदीपलाई चिनाएपछि प्रहरीले प्रदीपलाई भ्यानमा राखेर लगेको पसलधनी पाले चौधरी बताउँछन् ।

आफन्तहरुले थाहा नपाउँदा प्रदीप वडा प्रहरीकै नियन्त्रणमा रहेको र १२ साउनमा मात्रै हिरासतमुक्त भएको प्रदीपका काका बलबहादुर रावलले बताए ।

वडाप्रहरी कार्यालयमा प्रदीपले कुखुरा चोर्ने काममा विशाल चौधरी पनि संलग्न रहेको बताएपछि प्रहरीले साँझ करिब ४ बजे विशाललाई सालघारीस्थित घरबाट पक्राउ गरेर लगेको उनकी आमा सर्मती चौधरीले बताईन् । अधिकारकर्मी शारदा चन्द र मिना भण्डारीले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा हेरेको कागजमा पनि विशाललाई १० गते ४ बजे घरबाटै पक्राउ गरिएको उल्लेख रहेको दुबै अधिकारकर्मीको भनाई छ । डिएसपी कृष्ण ओझाले चन्द र भण्डारीलाई पक्राउपूर्जी, हाजीरी र बुझिलिएको कगजात देखाए पनि प्रतिलिपी दिन मानेनन् ।

 

आमाले जमानत लिएपछि विशाललाई ११ साउनमा छोडिएको थियो । विशालको पनि चोरीमा संलग्नता रहेको बयान दिने प्रदीप भने १२ साउनमा मात्रै हिरासतमुक्त भएका थिए । विशालले १२ गते जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर तारेख बुझाएको कागज डीएसपी कृष्णराज ओझाले आफूहरुलाई देखाएको अधिकारकर्मी शारदा चन्द र मिना भण्डारीले बताएका छन् । मासुपसले पाले चौधरीले आफूले प्रदीपका बारेमा मात्रै उजुरी दिएको, प्रदीपलाई पक्राउ गरेपछि उनैले विशालको नाम खोलेको र दुबैजना १० साउन राति वडा प्रहरी कार्यालयको नियन्त्रणमा रहेको बताएका छन् ।

यहाँनिर ‘।

उच्चस्तरीय छानविन समितिको प्रतिवेदनअनुसार पोष्टमार्टम रिपोर्टमा निर्मलाको हत्या १० साउन अपरान्ह करिब ३ बजे भएको उल्लेख छ । पाले चौधरीका अनुसार प्रदीपलाई प्रहरीले त्यही दिन बिहान करिब १० बजे नियन्त्रणमा लिएको छ । प्रदीपको बयानका आधारमा प्रहरी अपरान्ह करिब ४ बजे विशालको घर जाँदा उनी घरमैं थिए । घरबाटै विशाललाई प्रहरीले गाडीमा राखेर लगेको आम सर्मती र छरछिमेकले बताएका छन् ।

 

प्रदीप बिहानैदेखि प्रहरी हिरासतमा छन् । पाले चौधरीको पसलबाटै उनलाई करिब ४ घण्टा अगाडि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी र पोष्टमार्टम रिपोर्टअनुसार करिब ३ बजे निर्मलाको हत्या भएको छ । प्रहरीले त्यसको ठीक एक घण्टापछि घरबाटै विशाललाई नियन्त्रणमा लिएको छ ।

प्रश्न उठ्छ

विहान १० बजे प्रहरीले भगतपुरस्थित मदनआश्रित स्कूलनजिकको पाले चौधरीको मासुपसलबाट गिरफ्तार भएका प्रदीपले चोरीमा विशालको पनि संलग्नता रहेको बयान दिएपछि प्रहरी विशाललाई खोज्न थाल्यो । घरमा लुकेर बसेका विशाललाई घरबाटै प्रहरीले समात्यो । तर, अहिले आएर उनीहरु दुबैजनालाई निर्मलाको बलात्कार र हत्याको अभियोगमा काठामाडौंमा थुनिएको छ ।

 

प्रहरी हिरासतमा रहेका प्रदीप कसरी त्यहाँबाट उम्केर निर्मलाको बलात्कार र हत्या गरी फेरि साँझ प्रहरी हिरासतमैं पुगे भन्ने प्रश्न उठेको छ । अर्कोतिर, ३ बजे बलात्कार रहत्या गरेर ४ बजे विशाल घर पुगेको प्रहरी तर्क शंकास्पद देखिन्छ । उनकी आमा र पक्राउ पर्दाका प्रत्यक्षदर्शी छिमेकीका अनुसार प्रहरीको गाडीमा बस्दा विशाल धेरै आत्तिएका थिएनन् । आमा सर्मती र विशालका भाईका अनुसार त्यसदिन विशाल बिहानैबाट घरमा थिए, बाहिर निस्केका थिएनन् ।

 

जबकी निर्मलाको हत्या दिउँसै भए पनि शव व्यवस्थापन १० साउन राति परेको पानी थाकेपछि गरिएको लगभग पक्का देखिन्छ । प्रत्यक्षदर्शी र उपलब्ध भिडियो फुटेज अनुसार ११ साउन १० बजे शव पाइएको स्थान नजिक निर्मलाका किताब नभिजेको अवस्थामा पाइएका थिए । १० साउन रातभर त्यसक्षेत्रमा घनघोर बर्सात भएको थियो ।

 

प्रदीपका काका बलबहादुर रावलले पनि प्रदीपलाई १० साउन बिहान करिब १० बजे पाले चौधरीको पसल नजिकबाट पक्राउ गरिएको र १२ गते छुटाइएको बताए ।

भारत भागेका थिएनन् प्रदीप

प्रहरीले नयाँपत्रिकालाई चुहाएको समाचर अनुसार प्रदीप १० साउनपछि महेन्द्रनगरबाट गायब भएका थिए । समाचारमा उनी भारत गएको र अचानक काठमाडौंमा देखा परेपछि पक्राउ गरिएको उल्लेख छ । तर, प्रदीप भदौको ११–१२ गतेसम्म महेन्द्रनगरमैं रहेका खुलेको छ । उनी विद्युत प्राधिकरण अगाडिको राई ग्यारेजमा काम गर्थे । १० भदौमा उनले ग्यारेजका साहुबाट दुई हजार रुपैयाँ मागेर काठमाडौं गएका उनका काका बलबहादुरले बताए ।

 

बलबहादुरका अनुसार निर्मला हत्याकाण्डको केही महिना अगाडि प्रदीप बम्बईमा चार महिना बसेर फर्केका थिए । त्यसपछि उनी भारत नगएको बरु निर्मला हत्याकाण्डको एक महिनापछि काठमाडौं गएको बलबहादुरको भनाई छ ।

किन गए प्रदीप काठमाडौं ?

काका बलबहादुरका अनुसार प्रदीप भगतपुरकै भोटे राई भन्ने हर्के राईले बोलाएर काठमाडौं गएका हुन् । ‘जरुरी काम छ तुरुन्त आइजा भनेर बोलाएको रहेछ,’ बलबादुरले भने, ‘काठमाडौंमा प्रदीप भोटेसँगै थियो ।’

 

भोटे राईकै डेरामा प्रदीपले करिब तीन महिना बास बसेको बताउँदै बलबादुरले कामको बारेमा भने केही भन्न सकेनन् । उनलाई भोटे राईले काठमाडौं बोलाउनुको कारण शंस्कास्पद लागेको छ । भन्छन्, ‘भोटेकै योजनामा प्रदीप फसाइएको हो ।’

को हुन् प्रदीप ?

१७ वर्षीय प्रदीप महेन्द्रनगरका पुराना वासिन्दा भरबहादुर रावलका नाती हुन् । उनका बुवाको नाम टेकबहादुर रावल हो । ऋण लागेपछि जायजेथा सकिएका टेकबहादुर श्रीमति र अरु सन्तानसहित भारतको बैंगलोरमा छन् । प्रदीप भने बाजेसँगै भगतपुरको कच्ची घरमा बस्दै आएका थिए । उनी नेकपा एमालेका समर्थक थिए र युवा नेता महेश पन्तको अत्यन्त निकट थिए । भोटे भन्ने हर्के राई र महेश अत्यन्त मिल्ने साथी हुन् । प्रदीप भोटेको समेत निकट थिए ।

घरमा कोही नभएको हुँदा प्रदीप प्रायः छिमेकी महेश पन्तकै घरमा हुन्थे, उनी महेशलाई घरायसी काममा पनि सघाउँथे,’ प्रदीपका काका बलबहादुर भन्छन्, ‘महेश सँगै लोकेन्द्र नेपालीको घर पनि प्रदीपको घरडेरा जस्तै थियो ।’ लोकेन्द्र नेपालीको निर्मला हत्याकाण्डपछि मृत्यु भएको छ । अत्यधिक रक्सीसेवनपछि घरको सिढीबाट लडेर उनको मृत्यु भएको बताइएको थियो । लोकेन्द्र महेशका निकटतम व्यक्ति हुन् । दुबैजना तत्कालिन एमालेका स्थानीय नेता पनि हुन् । महेश पन्त नवगठित नेकपाका प्रदेश कमिटी सदस्य हुन् । उनी प्रधानमन्त्री केपी ओलीका निकटस्थ मानिन्छन् ।

बलबहादुरको शंका

कुखुरा चोरीमा प्रहरी हिरासतमा रहे पनि प्रदीप बलात्कार र हत्यामा संलग्न नभएको काका बलबहादुरको दावी छ । उनी प्रदीपलाई काठमाडौं बोलाएर फसाईको दावी समेत गर्छन् । हर्के राईमार्फत काठमाडौं बोलाएर प्रदीपलाई फसाउन तत्कालिन एमालेका स्थानीय नेताहरुको हात रहेको उनी खुलेरै आरोप लगाउँछन् । ‘उसलाई प्रलोभनमा पारेजस्तो छ, नत्र भने १० साउनमा प्रहरी हिरासतमा रहेको व्यक्तिले कसरी त्यही दिन दिउँसो बलात्कार र हत्या गर्छ रु’ उनको प्रश्न छ । प्रदीपलाई काठमाडौंमा प्रहरीले यातना दिइरहेको आफूले खबर पाएको बलबहादुरको भनाई छ ।

चुहिएको समाचार सत्य हो भने।।

नेपाल प्रहरीलाई उधृत गर्दै नयाँपत्रिका दैनिकले छापेको समाचारलाई सत्य मान्ने हो भने प्रहरी फेरि एकपटक जालझेलमा उत्रेको सहजै अनुमान गर्न सकिन्छ । नयाँपत्रिकामार्फत प्रहरीले चुहाएका सूचनामा तमाम असंगति छन् जसबाट प्रदीप र विशाल समेत सिकार बनेका देखिन्छ । ती असंगति निम्नानुसार छन् ।

–१० साउन बिहानै प्रहरी हिरासतमा पुगेका प्रदीपलाई प्रहरुले मुख्य अभियुक्तका रुपमा पेश गरेको छ । १० साउन ३ बजेको आसपास निर्मलाको हत्या भएको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ । प्रदीप त्यतिबेला वडा प्रहरी कार्यालयको नियन्त्रणमा थिए ।

–प्रदीपकै बयानका आधारमा १० साउन साँझ ४ बजे विशाल आफ्नै घरबाट पक्राउ पर्छन् । ३ बजे निर्मलाको बलात्कार र हत्या गरी उनी घर गए र प्रहरीले कुखुरा चोरीको आरोपमा उनलाई समात्यो भन्ने प्रहरीको निष्कर्ष जस्तो देखिन्छ ।

–चुहाइएको समाचार अनुसार प्रहरीले प्रदीप र निर्मलालाई छिमेकी भनेको छ तर उनीहरु सहरी बस्तीको करिब तीन किलोमिटर दूरीमा बस्दै आएका छन् ।

–निर्मला र प्रदीपको परिचय भएको प्रहरीको दावी छ । तर, यो दावी गलत देखिन्छ ।

–प्रदीपले निर्मलाको साइकलको चेन फुत्किएको र उनलाई सहयोग गरेपछि वबर्जस्ती गरेको बयान दिएको नयाँपत्रिकाले लेखेको छ । यही कथा दिलिप विष्ट पक्राउ गर्दा पनि प्रहरीले निर्मलाको साइकलको चेन बिग्रेको कथा सुनाएको थियो । यो संयोगलाई मामुली ठान्न सकिदैन ।

–प्रदीपले कहिल्यै होटलमा काम गरेनन् तर प्रहरीले नयाँपत्रिकालाई ‘महेन्द्रनगर र काठमाडौंका विभिन्न होटलमा काम गर्ने’ भनेको छ ।

–प्रदीप १० साउनपछि भारत गएको प्रहरीले दावी गरेको छ तर उनी राजमार्गको राई ग्यारेजबाट दुईहजार बुझेर १० भदौमा काठमाडौं गए । काठमाडौंमा उनी हर्के राईसँगै बस्थे ।

प्रदीप र विशाल दुबैजना लागू औषधको कुलतमा फसेका थिएनन् । कहिलेकही गाँजाचरेस र चुरोट सेवन गरे पनि औषध सेवन नगर्ने उनीहरुका परिवारजन तथा साथीभाईले बताएका छन् । प्रहरीले भने उनीहरुलाई कुलतमा डुबेका भन्ने आशयको समाचार चुहाएको छ ।